![](https://karnalimission.com/wp-content/uploads/2018/06/20180615_123026.jpg)
जुम्ला ः जुम्लामा सम्बन्ध विच्छेदको घटना बढ्दै गएका छन् । जिल्ला अदालत जुम्लामा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । जिल्ला अदालतमा दर्ता भएका ९६ ओटा मुद्दा मध्ये ३८ ओटा सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । यो संख्या जम्मा संख्याको झण्डै ४० प्रतिशत हुने अदालतले जनाएको छ ।
अभिवक्ता देवेन्द्र शर्माका अनुसार उमेर नपुग्दै विवाह गर्ने, उमेर पुगेपछि पहिलो विवाह प्रति मन मारेर दोस्रो विवाह गर्नाले पनि सम्वन्ध विच्छेदका घटना बढेका हुन् । त्यस्तै पुरुषले अत्यधिक मदिरा सेवन गरेर घरमा झगडा गर्ने कारणले पनि परिवार प्रति वितिष्णा जाग्नाले पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको शर्मा बताए ।
अंशसहित र अंशरहित गरी दुई प्रकारका सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत जुम्लाले जनाएको छ । अहिलेसम्म अंशसहितका १६ वटा मुद्दा मध्ये ६ वटा फैसला भइससकेका छन् भने अन्य मुद्दाको फैसला हुन बाँकी छन् ।
यस्तै अंश रहितका जम्मा २२ वटा मुद्दा मध्ये १३ वटाको फैसला भइसकेको छ भने बाँकी ९ वटा मुद्दाको फैसला हुने क्रममा रहेको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार इन्द्रकुमार खड्काले बताए । आवश्यक प्रमाण अभावका कारण केही मुद्दाको फैसला हुन ढिलाई भएको हो उनले भने ।