
मानदत्त रावल, कर्णाली पोष्ट दैनिक
जुम्ला ः तिला गाउँपालिकाले समृद्धि सहितको स्थानीय तह निर्माणका लागि पञ्च बर्षीय आवधिक योजना बनाएको छ । आगामी पाँच वर्ष भित्र गाउँपालिकालाई सुन्दर, हराभरा र रमणिय गाउँपालिका निर्माणका लागि योजनावद्ध रुपमा अघि बढेको हो । लामो समयको पहल पछि पाँच बर्षीय योजना बनाउन सफल भएको हो । तिला गाउँपालिकाले सवै क्षेत्रको समुचित विकासका लागि पञ्चबर्षे आवधिक योजना बनाएको छ, अध्यक्ष रतननाथ योगीले भने, अवका काम पञ्च बर्षीय योजनामै टेकेर अघि बढ्छन् । उनका अनुसार गाउँपालिकाको काम काजका लागि सहज हुने भएको छ । गाउँ कार्यपालिकाबाट अनुमोदन गरी आगामी आर्थिक बर्ष ०७६÷०७७ ले कार्यन्वयनमा ल्याउने उद्देश्यले पञ्चबर्षे आवधिक योजना बनाएको हो उनको भनाई छ ।
पञ्चवर्षिय योजनामा प्रत्येक गाउँमा सडक सञ्जाल जोडेर यातायातको पहुच वृद्धि गर्ने, गाउँपालिका भर एक मेगावट विद्युत उत्पादन गरी उद्योग कलकारखाना खोल्नमा जोड दिने, यहाँको आर्थिक, सामाजिक, सास्कृतिक र पर्यटकिय तथा पर्यवरणिय अवस्थालाई दृष्टिगत गर्दै नीति, कार्यक्रम तथा वजेट तर्जुमा गर्ने उल्लेख छ ।
राष्ट्यि स्तरका विषय विशेषज्ञ र स्थानीय विज्ञ विचको घनिभुत छलफल पछि पञ्च बर्षीय योजनाले मुर्तरुप पाएको हो । गाउँपालिको समग्र विकासका लागि दाताहरुलाई पञ्च बर्षीय योजनामा टेकेर कार्यक्रम सञ्चालन गर्न दिशा निर्देश गरेको छ, अध्यक्ष योगीले भने, यसैको आधारमा कार्यक्रम संचालन गर्न स्वीकृत दिईने छ, पञ्च बर्षीय योजनामा रहेर गैरसरकारी संस्थाले कार्यक्रम गर्न पाउने छन् । समृद्ध गाउँपालिका निर्माण र समृद्धशाली जनता भन्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर योजना वनेकोले राम्रो काम हुने अध्यक्ष योगीले बताए ।
गाउँपालिका भित्र रहेका आर्थिक, सामाजिक, सास्कृतिक, प्राकृतिक र पर्यटकिय संभावनालाई उजागार गर्न र यहाँको सवै क्षेत्रको विकास गर्नका लागि यो आवधिक योजनाले महत्वपुर्ण भुमिका खेल्ने स्थानीय विज्ञहरु बताउँछन् । सिंहदरवारको अधिकार गाउँमा पुगिसकेको वेला सवैले समृद्धिको सपना देख्न जरुरी छ, उपप्रमुख विष्णुमाया बुढाले भनिन् सपनालाई विपनामा बदल्ने काम सवै सरोकारवाला निकायको हो । आगामी पाँच वर्षमा गाउँपालिकाको विकासको स्वरुप परिर्वतन गर्ने उद्देश्य अनुरुप दिर्घकालिन पञ्च बर्र्षीय योजना बनेको उनको भनाई छ ।
उपप्रमुख बुढाले आगामी आर्थिक वर्षमा सर्वपक्षिय सर्वलियको सहभागीतामा बनाएको आवधिक योजना भित्र रहेर मात्र आफ्नो गाउँठाउँका विकास निर्माणका योजना अघिसार्न आग्रह गरिन् । अबको युग भनेको हिसांरहित समाजको परिकल्पना गर्ने युग हो । सामाजिक विभेद रहितको युग हो उनले भनिन् कसैले कसैमाथि सामाजिक हिंसा विभेद गर्न पाईने छैन्, यो सन्देश दिर्घकालिन योजनामा समावेश गरिएको छ । टुक्रे योजनाले विकासको अनुभव नहुने भएकोले दिर्घकालिन गौरवका आयोजनाको खोजी भईरहेको छ । उनले सिंहदरवार गाउँमा आएको अनुभुति गर्न योजनावद्ध विकास रणनितिक योजनाको जरुरी छ, यसैका लागि दिर्घकालिन योजना निर्माण भएको वताईन् ।
जिल्लाका एक नगरपालिका सहित सात वटा गाउँपालिकामा दिर्घकिालन रणनीतिक योजना वनाउने तिला गाउँपालिका पहिलो हो । गाउँपालिकामा त्रिवेणीधाम पर्यटकिय गन्तव्यका रुपमा रहेको छ । नदै गुफा धार्मिक पर्यटनको एक विन्दु मानिन्छ । तिला नदि व्यर्थै वगेको छ । स्याउ, सिमी, आलु, फापरको संभावना युक्त क्षेत्र तिला गाउँपालिका हो । उपप्रमुख बुढाले भनिन्, संभावनालाई टिपेर सुन्दर माला उन्ने पक्षमा गाउँपालिका रहेको छ ।
पञ्चबर्षे योजना वनाउनका लागि गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । विश्व खाद्य कार्यक्रम, सिडिपी, क्याड नेपाल र प्लान ईन्टरनेश्नल नेपालले पञ्चबर्षे योजना निर्माणमा सघाउ पुर्याएको तिला गाउँपालिका कार्यालयले जनाएको छ ।
पाँच वटा विषयगत समितिबाट आएका सुझावमा व्यापक छलफल गरी योजनालाई अन्तिम रुप दिने काम भएको गाउँपालिका उपप्रमुख बुढाले वताईन् । अव गाउँपालिकाले समृद्धिको खाका कोरेको, सवै मिलेर समृद्धिको सन्देश फैलाउने दिन शुरु भईसकेका छन् ।