
काठमाडौं । रसियामा विश्वकप फुटबल चलिरहेको छ । विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका छन् । तर, कतिपयले विश्वकपलाई जुवा खेल्नेरखेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन् ।
रसिया विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो । काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले गल्लीगल्लीमा अहिले सट्टेबाजले बाजी लगाउने गरेको बताए । उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार जारी विश्वकप फुटबल खेलमा दैनिक अर्बौँ रुपैयाँको बाजी लाग्ने गरेको देखिन्छ ।
टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ । हामीले केही सट्टेबाजलाई निगरानीमा राखेका छौँ । केही सूचना आएका छन् । त्यसमा अनुसन्धान पनि चलिरहेको छ ।’
तीनजना डेढ करोडसहित पक्राउ
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाडौंबाट आइतबार दिक्पालजंग थापा, अमित महत र धर्म महर्जनलाई रंगेहात पक्राउ ग(यो ।
प्रहरीका अनुसार उनीहरूले एउटै खेलमा बाजी लगाउन एक करोड ५५ लाख रुपैयाँ संकलन गरेका थिए । आइतबार राति इंग्ल्यान्ड र पानामाबीचको खेलका लागि उनीहरूले बाजी लगाएका थिए ।
महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले उक्त रकम आफ्नै ‘सर्कल’का साथीहरूबाट संकलन गरेका थिए । उनले भने, ‘उनीहरूले विश्वकप फुटबलमा बाजी लगाएको भेटियो । प्रमाणसहित उनीहरूलाई हामीले पक्राउ ग(यौँ ।’
बाजी लगाउने टोलेगुन्डा पनि पक्राउ
विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् ।
क्यासिनो खेलाडी सट्टेबाजीमा
राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ ।
अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘पछिल्ला दिनमा जुवाडेहरू क्यासिनोमा जान बन्द गरेका छन् । उनीहरू फुटबलमै बाजी लगाउन थालेका छन् ।
यसमा प्रहरीबाट समातिने खतरा पनि कम भयो । जुवाको तलतल पनि मेटियो । त्यसैले उनीहरू यस धन्दामा संलग्न हुने गरेको देखिन्छ ।’
साँझ ५ बजेबाट धन्दा सुरु, बिहान ८ बजेसम्म हिसाब क्लियर
महाशाखाका एसपी राठौरका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट सुरु हुन्छ । रातभर धन्दा चल्छ । बिहान ८ बजेसम्म हिसाबकिताब क्लियर हुन्छ । अनि मोबाइल स्विचअफ गरेर दिनभर सुत्छन् ।
खेल पाँच बजेपछि सुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही वेलादेखि सुरु हुन्छ । रातभर खेल चल्ने भएकाले बाजी पनि रातभर चलिरहन्छ । खेल सकिएपछि हिसाबकिताब हुन्छ ।
सट्टेबाजीका लागि उनीहरूले विशेषगरी भइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्छन् ।
नँया पत्रिका दैनिकमा यो खबर टेकराज थामिले लेखेका छन् ।