काठमाडौँ ः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि आज वार्ता समिति गठन गरिने भएको छ । आज जारी मन्त्रीपरिषद बैठकले केसीको माग सम्बोध गर्न एक वार्ता समिति गठन गरिने शिक्षामन्त्री गिरिराजमणी पोखरलेले जानकारी दिए ।
कांग्रेसको विरोधपछि संसदबाट बाहिरिँदै मन्त्री पोखरलेले मन्त्रीपरिषदको बैठकले आजै वार्ता समिति गठन गर्ने बताएका हुन् । ‘संसद् बैठकमा सरकारका तर्फबाट सम्बोधन गर्न खोज्दा कांग्रेसको अवरोधले पाइएन ।’ उनले भने ।
प्रमुख विपक्षी दल कांग्रेसले अवरोध गर्दा संसद बैठक स्थगित भएको छ । बैठक बस्न खोज्दा दोस्रो पटक पनि विरोध गरेपछि ३ साउन सम्मका लागि संसद् स्थगित भएको हो ।
संसद्मा सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने कार्यक्रम भए पनि कांग्रेसको अवरोधका कारण अब ३ साउनमा संसद् वैठकमा मात्र प्रस्तुत हुने छ । कांग्रेसको पहिलो अवरोधले बिहान बस्ने भनेको प्रतिनिधिसभा बैठक कार्य सूचीमा प्रवेश नगरी आधा घण्टा स्थगित भएको थियो ।
बैठक अवरुद्ध गर्दै कांग्रेस सचेतक पुष्पा भूषालले सरकारले डा. गोविन्द केसीको माग सम्बोधन र स्वास्थ्य उपचारमा गम्भिर नभएको बताइन् । अवरोधकै कारण सभामुखले सत्ता पक्षले प्रतिवाद गर्ने समय दिन सकेनन् । सरकारका तर्फबाट शिक्षामन्त्री पोखरेलले सम्बोधन गर्न लाग्दा समेत कांग्रेसको अवरोध गरेको थियो ।
स्रोत ः नयाँ पत्रिका