जुम्ला घटना छानबिनका लागि डीआईजी नेतृत्वको टोली पुग्यो

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनसम्म अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बिहिबार जबरजस्ती काठमाडौं लैजाँदा गर्दा भएको प्रतिष्ठान घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जुम्ला पुगेको छ । नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । उक्त टोलीले सोमबार दिउसो अस्पतालमा भएको घटना बारे प्रतिष्ठानका पदाधिकारी र अन्य सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम गरेको छ ।

अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन् । प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायद्धारा हस्ताक्षरीत विज्ञप्तिमा घटना घटाउन प्रतिष्ठान पदाधिकारीहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै राजिनामाको माग गरीएको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । भने प्रहरीले गोली नचलाएको दाबी गर्दै आएको छ । अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए । घटनामा तीन जना प्रहरी पनि घाइते भएका थिए । एक प्रहरी गोली लागेर गम्भीर घाइते भएका छन् । उनको काठमाडौंमा उपचार जारी छ । घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस