नन्दराज जैसी
जुम्ला । जुम्ला घटनामा गोली लागेर गम्भीर घाइते भनिएका २५ वर्षीय प्रहरी जवान कमल आचार्य उपचारपछि अहिले आराम गरिरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले साउन ३ गते काठमाडौं लैजान खोज्दा भएको झडपमा प्रहरीले चलाएको गोली छातीमा लागेर घाइते भनिएका आचार्य अहिले थप उपचारसहित आराम गरिरहेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लामा २ महिनायता कार्यरत जुम्ला घटनाका गम्भीर घाइते आचार्य सुर्खेत लेखबेंसी नगरपालिका(४ स्थायी घर भई कञ्चन गाउँपालिका ३ रुपन्देहीवासी हुन् ।
जुम्ला घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि गृह मन्त्रालयले हेलिकोप्टरमार्फत जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौँ लगेको थियो । साउन ४ गतेबाट उपचारका लागि टिचिङ अस्पताल काठमाडांै राखिएका आचार्यको स्वास्थ्य अवस्था सुधार भएपछि साउन ७ गते प्रहरी अस्पताल काठमाडौंमा रेफर गरिएको छ । अहिले उनी थप उपचारसहित प्रहरी अस्पतालमा आराम गरिरहेका छन् । उनको छातीमा लगाइएको टाँका खोलिएको छैन । घाइते आचार्यलाई गोली लागेको भनिए पनि त्यो गोली नभई सिसा बिजेको प्रहरीले दाबी गर्दै आएको छ ।
घटना रहस्यमय
घटनापछि जुम्लामा तत्काल गरिएको एक्सरे रिपोर्टका आधारमा घाइते कमल आचार्यको छातीमा गोली लागेको चिकित्सकले आशंका गरेका थिए । एक्सरे रिपोर्ट हेर्दा छातीको दायाँ भागमा प्वाल परी मुटुको माथिल्लो भाग छेड्दै छातीको बायाँ भागमा गएर बसेको देखिने गोली आकारको वस्तु सिसा नभई गोली नै हुन सक्ने त्यतिबेला चिकित्सकको आशंका थियो । तर, डीएसपी डा. तपनकुमार दाहालले भने प्रहरीले गोली नचलाएको दाबी गरिरहेका थिए । त्यतिबेला भीड नियन्त्रण गर्न भन्दै दाहालले प्रहरीको मृत्यु भइसकेको र १० मिनेटभित्र भीड तितरवितर हुनसमेत सुझाव दिए । यदि, भीड तितरवितर नभई झडप जारी रहे प्रहरीले गोली चलाउने उनले बताएका थिए । अहिले पनि उनले गोली नभई सिसा बिजेको दाबी गरेका छन्।
प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकायाले अनुमानका आधारमा गोली नै हो भन्न नमिल्ने बताए । उनका अनुसार घाइते प्रहरीको छाती हुँदै मुटुमा प्वाल परेको थियो । चिकित्सकले अन्य संक्रमणबाट बचाउन त्यो प्वाल बन्द गरी रगत बग्न रोकेर रेफर गरेका थिए ।
घटनापछि घाइतेको जीवन रक्षाका लागि तत्काल प्रतिष्ठानमा १२ प्वाइन्टजति रगतसमेत जम्मा गरियो । तर, चिकित्सकले उपचार गर्दागर्दै घाइतेको थप उपचारका लागि भन्दै सरकारले प्रतिष्ठानबाट रेफर गरेको थियो । सोही दिउँसो ५ बजेपछि घाइते आचार्यलाई हेलिकोप्टरमै अक्सिजन र रगत दिँदै नेपालगन्ज पु¥याइयो । तर, यहाँको नागरिक समाज र स्थानीयले घटना रहस्यमय भएको भन्दै गोलीकाण्ड लुकाउन घाइतेलाई रेफर गरिएको आशंका गरेका छन् ।
घाइते कमल आचार्यभन्दा अगाडि नै सरकारले डा. केसीलाई जुम्लाबाट काठमाडौं लैजाँदै गर्दा केसीले विद्यार्थी मार्ने दाउमा प्रहरीले चलाएको गोली प्रहरीलाई नै लागेको दाबी गरेका थिए । अहिले पनि केसी पक्षले गोली भएको दाबी गरेको छ भने प्रहरी तथा सरकार पक्षले गोली नभएको बताइरहेको छ । तर, सबै मिडियाले भने जुम्लामा गोली नै चलेको समाचार प्रसारण तथा प्रकाशन गरेका थिए ।
के भन्छन् घाइते प्रहरी
जुम्ला घटनाका घाइते प्रहरी जवान कमल आचार्यले आफूलाई गोली नलागेको बताए । ‘मलाई गोली लागेको होइन, सिसा बिजेको याद छ तर उपचारपछि मलाई बिजेको सिसा पनि मैले देखिनँ’, उनले भने, ‘म बेहोस थिएँ, मेरो शल्यक्रिया कसरी भयो र मलाई बिजेको सिसा के कत्रो थियो, देख्न पाइनँ ।’
उनका अनुसार ‘डा. गोविन्द केसीको समर्थनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच दोहोरो झडप हुँदै थियो, झडप क्रममा सिसाको ढोका तोडफोड भयो, फुटेर चिराचिरा परेको ढोकाबाट उनी हतारले भित्र छिर्न खोज्दै थिए, त्यहीबेला फुटेको सिसा उनको छातीमा छिरेको हो ।’ अरूले प्रहार गरेको सिसा नभई हुलमुलमा फुटेर चिराचिरा भएको ढोकाको सिसा छातीभित्र छिरेको उनको भनाइ छ । आफु डा. केसी राखिएको कोठामा प्रवेश गर्ने ध्येयसाथ सिबिलमा घटनास्थल पुगेको पनि उनले बताए ।
‘सिसा छातीमा छिरेपछि अत्तालिँदै हुलमुलबाट बाहिर आएँ र चिच्याउँदै बचाउन आग्रह गरँे, त्यही वरिपरि रहेका स्वास्थ्यकर्मी, नर्सहरूले यो त प्रहरी हो बचाउन हुन्न भनेको मलाई याद छ’, अन्नपूर्णसँग उनले भने, ‘त्यही बेला एक जना नर्सले मेरो घर पाल्पा हो, तपाईंलाई केही हुन्न म बचाउँछु भनिन्, मलाई बोकेर शड्ढयामा लगिन्, केहीबेरमै अन्य चिकित्सक आएर मेरो उपचारमा लागेको मलाई राम्रोसँग याद छ, त्यसपछि के भयो थाहा भएन ।’
साउन ३ गते दिउँसो घटना घटेको केही समयपछि बेहोस भएका घाइते आचार्य साउन ५ गते मात्र होसमा आएका थिए । आफूले पुनर्जन्म पाएको भन्दै आचार्यले आफूलाई बचाउने नर्स र रक्तदातालाई भेटेर स्याबासी दिन एक पटक जुम्ला फर्किने बताए ।