
जुम्ला ः चन्दननाथ नगरपालिका – ९ श्रीढुस्का ३६ बर्षीय कालीदास घर्तीको बाढी पहिरोमा परेर आइतबार मृत्यु भएको छ ।
सोही नगरपालिका – ८ मा पर्ने चुउडे वनमा गाईगोरु चराउन गएको अवस्थामा बाढी पहिरोमा परेर उनका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ । मृतक घर्तीको शव पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालको शव घरमा राखिएको जनाएको छ । आज नै पोष्टमाटम गरी दाससंस्कार गरिने उनका आफन्त कमल घर्तीले बताए ।
गतहप्ता पातारासी गाउँपालिका ५ तलिल्होर्पमा गएको पहिरोमा परी बेपत्ता भएका युवा २८ बर्षीय डम्बरसिंह बुढा अझै फेला परेका छैनन् । अविरल बर्षका कारण गएको उक्त पहिरोमा परी गत हप्ता साउन १० गते साँझ साढे ६ बजेतिर सदरमुकामबाट घर जाँदै गरेका बुढा बेपत्ता भएका थिए । बेपत्ता युवाको खोजी कार्य जारी रहेको र हालसम्म पनि कतै नभेटिएको प्रहरी निरिक्षक प्रकाश केसीले बताए
ग्रामीण सडक खन्दा पहिरोको जोखिम
जुम्लामा जथाभावीले ग्रामीण तथा कृषि सडक खन्दा पहिरोको जोखिम बढ्दै गएको छ । अहिले स्थानीय तहमा जताततै ग्रामिण कृषि सडक खनिएका छन् । डोजर प्रयोग गरी खनिएकाले जमीन हल्लीएको हुन्छ भने अर्काे तिर खनिएका सडकबाट आएको माटो जताततै थुपारिएको छ । सडक खन्दा थुपारिएको माटो अविरल बर्षादले बगाएर पहिरो जाने र धनजनको क्षेति हुने गरेको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए ।