बिरामीलाई सिटामोलको जोहो ः लाखौको औषधि म्याद गुज्रियो

नन्दराम जैसी,
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमै जिल्ला स्वास्थ्य कार्यालयको नँया भवन बन्दैछ । निकै धिलासुस्ती र अस्तब्यस्त तरीकाले निर्माणाधिन भवनको झ्याल, ढोका, पानिजडान, सौचालय तथा भवन फिनिसीङ लगाएतका सबै काम बाँकि छन् । तर ह्वाङ परेको भवनभित्र र बाहिर जथाभावि निर्माण सामाग्रि फालिएको छ । भवनको पहिलो तलाभित्र छिर्दा हिँउदको हिँउ र बर्षाको पानीले भिँजेका निर्माण सामाग्रि र ओसिलो कोठाहरुमा रहेको फाहोर निकै गन्हाउँछ पनि । त्यसैमा झन् दोस्रोतलाको दुई कोठामा लथालिंग फालिएको म्याद गुज्रिएको औषधि गन्हाएर मुखै छोप्नुपर्ने अवस्था छ । निर्माणाधिन भवनभित्र रहेको फोहोर र म्याद गुज्रिएको औषधि गन्हाएर कामदारलाई खपिनसक्नु अवस्था छ, तर कामदार भने त्यसैमा सहेर काम गर्न बाध्य छन् । यसअघि भाडाको घरमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो भवन नबन्दै म्याद गुज्रिएको औषधि नँया भवनमा स्टोर गर्न खोजेपछि यस्तो समस्या आएको हो । अहिले त्यहाँ लाखौ मुल्यको करीब एक गाडिबढि म्याद गुज्रिएको औषधि लथालिंग फालिएको छ ।

भवन निर्माण ठेकेदारको चरम लापारवाहि र ढिलासुस्तीका कारण समयमै भवन नबनेपछि आधा निर्माण भएकै भवनमा सो औषधि राख्नु परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तर नागरीकहरुले भने भवनभित्र लाखौको औषधि जथाभावि फालेको देखेपछि ब्यापक आलोचना समेत गरेका छन् । ज्यामिको रुपमा भवन निर्माणमा काम गर्दै आएकि कमला सार्किले फालिएको औषधि देखेर आफुलाई निकै पछुतो लागेको बताईन् । ‘सो औषधि गन्हाएर एकातर्फ काम गर्न सकिने अवस्था छैन, अर्कोतर्फ निकै पछुतो पनि लाग्छ’ उनले भनिन्, ‘अस्पतालमा जाँदा औषधि नपाईने र पाईएपनि महंगो रकम तिर्नुपर्ने पिडा त छ, तर यसरी म्याद सँकिदासम्म औषधि गोदाममै थन्काईनु उपयुक्त होईन ।’ सोहि भवनमा टायल बिच्छ्याउने र पानि जडान गर्ने ठेक्का पाएका सुर्खेत तातोपानिका कमल श्रेष्ठले पनि फालिएको औषधि गन्हाएर काम गर्न असजिलो भएको बताए ।

जिल्लाका स्वास्थ्य संस्थाहरुमा उपचार गर्न गएका बिरामिले सिटामोलसम्म नपाएर रित्तो हात घर फर्किुनु परेको धेरै उदाहरण छन् । स्थानिय तह संचालनपछि मात्र होईन, बर्षौदेखि यँहाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै आएको रेकर्ड छ । तर हरेक बर्ष स्वास्थ्य संस्थामा बाराम्बार औषधि अभाव हुनु, र जिल्ला स्थास्थ्य कार्यालयको स्टोरमा औषधि म्याद गुज्रिएर थन्किनुको तालमेल भने पटक्कै मिल्दैन ।

‘म्याद गुज्रिएको औषधि दुई दशक यताकै भएको जिल्ला स्वास्थ्य कार्यालयको दावि छ ।’

कसरी गुज्रियो म्याद
म्याद गुज्रिएको लाखौ मुल्यको औषधि धेरै बर्ष अगाडिको रहेको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहिले दावी गरे । म्याद गुज्रिएको सो औषधि धेरै बर्ष अघिदेखि स्टोरमा थन्किएको उनले स्विकार्य । एक, दुई बर्षमै यति ठुलो परिणामको औषधि म्याद नसकिने भन्दै अलिअलि गर्दै धेरै बर्षभित्र म्याद गुज्रेको औषधि एकै पटक ठुलो परिणाममा देखिएको उनको भनाई छ । म्याद गुज्रेको सबै औषधि आर्थिक बर्ष २०७३ भन्दा पहिलेको रहेको उनले बताए ।

‘विगत दुई बर्षयता जिल्लामा औषधि अभाव छैन, यो समयमा कुनै औषधिको म्याद पनि गुज्रिएको छैन’ उनले भने, ‘स्टोरमा थन्किएको म्याद गुज्रेको औषधि दुई दशक यताकै हो, नत्र एक, दुई बर्षमा यति ठुलो परिणामको औषधि म्याद जाँदैन ।’ उनका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित औषधि डिस्पोज समितिले हरेक बर्ष म्याद गुज्रेको औषधि टिप्पणि उठाएर जलाउने प्रावधान भएपनि विगत दुई दशकयता म्याद गुज्रेको औषधि प्रक्रिया अनुसार जलाईएको छैन । अब सो औषधि जिल्लामै डिस्पोज गर्ने वा केन्द्रमा पठाउने भन्ने बिषयमा पहल भैरहेको जनस्वास्थ्य अधिकृत शाहिले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन किरण शर्माले म्याद गुज्रिएको औषधि सहि तरीकाले ब्यवस्थापन गर्न कार्यालयको निर्माणाधिन भवनमा राखिएको बताए । उनले भने, ‘धेरै बर्षदेखि म्याद सकिएको औषधि प्रक्रिया नपुर्र्याई बातावरण प्रदुषण हुने गरी जलाउन वा कतै खाल्डो वा नदिखोलामा फाल्न मिल्दैन ।’

प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस