बालविवाह राेक्न चेतना जगाउँदै बालक्लव

मानदत्त रावल
जुम्ला : तातोपानी गाउँपालिकास्थित दुर्गा मावि लाम्रामा १० कक्षामा अध्ययनरत १७ वर्षकी लंका रोकाया र भगवती कामीबीच गत जेठमा विवाह भयो । बालक्लबको सक्रियतामा विवाह गरेपछि पनि दुवैै विद्यालय फर्किए ।

दुर्गा माविमा गठित दुर्गा शान्ति बालक्लवको सक्रियतामा कक्षा सातमा अध्ययनरत १५ वर्षीय बालिका लक्ष्मी कामीको विवाह रोकिएको छ । यसैगरी, अर्का किशोरी रामु नेपालीको विवाहपछि विद्यालयलाई निरन्तरता दिन क्लबले नै सघायो । बालक्लवका अध्यक्ष सुमित्रा डाँगीले बताइन् । आगामी दिनमा क्लव तथा सञ्चार क्षेत्रसँग हातेमालो गर्दै बालविवाहविरुद्ध अभियानलाई सघाउने प्रधानाध्यापक प्रेमबहादुर शाही बताए ।

तातोपानी गाउँपालिका वडा नं. ५ लाई बालविवाह मुक्त बनाउने अभियानलाई अघि बढाउने वडाध्यक्ष हरिबहादुर डाँगीले प्रतिबद्धता गरेका छन् । उनले भने, ‘२० वर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई कानुनले मान्यता दिँदैन त्यसैले जनप्रतिनिधिले वालविवाहका बारेमा सोचेर काम गर्नु पर्दछ ।’

जिल्लामा उमेर नपुग्दै विवाह गर्ने परम्परा अझै रोकिएन सकेको छैन । बालविवाहको प्रचलन उस्तै छ । गाउँमा किशोर किशोरीले सानै उमेरमा विवाह गर्ने गरेका छन् । अशिक्षा, गरिबी तथा अभाव भएका परिवारमा बालविवाह अधिक रहँदै आएको छ ।

पातारासी गाउँपालिका क्षेत्रमा सबैभन्दा धेरै बालविवाह हुने गरेको एक तथ्यले देखाएको छ । गाउँपालिकामा रहेको हिम शिखर माविमा दश जनाभन्दा बढीले बालविवाह गरेर विद्यालय गएको पाइएको छ ।

जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन रहेको अधिकारकर्मी तथा पूर्व जिल्ला बालकल्याण समितिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने ‘बालविबाहलाई परम्परागत रुपमा लिनु, फोन, सामाजिक सञ्जाल प्रयोगले विवाह हुने प्रवृति बढेको हो ।’ स्थानीय सरकारले योजना बनाएर अगाडि बढे पनि बालविवाह नरोकिएको उनले बताए ।

यसैगरी बालविवाहले समाजमा पर्ने र जीवनमा पर्ने असरको बारेमा प्रशिक्षण दिनु पर्ने महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताइन् । गाउँमा बालविवाह गरे पनि प्रहरी समक्ष उजुरी नआउदा बालविवाहको बारेमा कसैले चासो नदिएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस