प्रकाण्डलाई रिहा नगरे खोसेर लाने विप्लवका नेताको चेतावनी

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न माग गर्दै कालिकोटामा जुलुस निकालिएको छ ।

उनको गृहजिल्ला कालिकोटको माल्कोटमा स्थानीयबासी सडकमा उत्रिएका हुन् । सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै नेकपा कालिकोटका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

नरहरिनाथ गाँउपालिका–६ माल्कोटमा जन्मेका विश्वकर्मालाई झुटा मुद्दा लगाएर सरकारले पक्राउ गरी अन्याय गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् ।

नेकपाका पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीको नेतृत्वमा कर्णाली ब्यूरो सदस्य कर्णबहादुर भण्डारी, जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीप लगायत नेता कार्यकर्ताले प्लेकार्डसहित प्रदर्शन गरे ।

विरोध प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभा कार्यक्रममा नेकपाका कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीले प्रकाण्डलाई बाराम्बार पक्राउ गरेर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहा नगरे कडा प्रतिबाद गर्ने बताए ।

उनले संघर्षका कार्यक्रमलाई बेवास्ता गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए । ‘हामी क्रान्ति गरिरहेका छौँ, युद्ध गर्ने सोचमा छैनौँ’, उनले भने, ‘तर राज्यले आफूहरुलाई युद्ध गर्न बाध्य पार्दैछ ।’

अन्नपुर्ण पोष्टबाट

प्रकाशित मिति : २०७५ भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस