मापदण्डअनुसार व्यापार नगरे कारबाही गर्ने स्थानीय सरकारको चेतवानी

जुम्ला : जुम्लाका डिलर तथा पसलहरुले म्याद नाघेका खाद्यबस्तु बिक्री बितरण गरेको भन्दै मापदण्ड अनुसार व्यापार नगरे कारबाही गर्ने स्थानीय सरकारले चेतवानी दिएका छन् । जुम्लाका एक नगरपालिकासहित ७ गाउँपालिकाका स्थानीय सरकारले स्थानीय व्यापारी तथा डिलर सञ्चालकहरुलाई यस्तो चेतवानी दिएको हो ।

 

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवि महतका अनुसार आजैका मितीदेखि एक हप्तासम्म हरेक पसलको अनुगमन गर्ने र सल्लाह सुझाब दिने अभियानमा छौँ । सल्लाह सुझाब दिँदा पनि अटेर गरी नाप तौल, म्याद नाघेका खाद्य बस्तु बिक्री बितरण र मुल्य सूची टाँस र त्यही अनुसार बिक्री बितरण नगरेको पाइएमा कार्य स्थलमै कारबाही गर्ने उनले बताइन् ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार गाउँपालिकाका भित्र पर्ने साना जारहरुको नियमिति अनुगमन गर्ने र कालाबजारी, अखाद्य बस्तु बिक्री बितरणमा रोक लगाउने गाउँ सभाबाटै निर्णय पारित भएको छ ।

निरक्षर उपभोक्तलाई ठगी गर्दै व्यापारी
अनुगमनकै क्रममा म्याद नाघेका सामान निरक्षर उपभोक्ताले खरिद गरिरहेकै क्रममा भेटिदा अनुगमन टोलीले भने कुनै कदम चाल्न सकेन । बजार अनुगमनको क्रममा ४ वटा डिलरमा म्याद सकिएका विभिन्न सामान भेटिएका थिए । तर, अनुगमनको लागि गएका टोली अर्कोपटक भेटिएमा कारबाही हुन्छ, भन्दै फर्किए ।

अनुगमनलाई प्रभावकारी बनाउन तथा नागरिकलाई स्वास्थ्य सुरक्षित गर्नका लागि चेतना अभिबृद्धि कार्यक्रम गरिनुपर्ने स्थानीय शुर बुढाले बताए । उनले भने ‘सामान किन्दा मिति कहाँ हुन्छ थाहा पाउँदैनौँ, किन्छौँ, खान्छौँ पछि स्वाथ्यमा खराबी आएपछि अरु नै कारण होला सोच्छौ, यस विषयमा चेतना अभिवृद्धिमा जोड दिनैपर्छ ।’ प्राय, चाउचाउ, बिस्कुट, दालमोटलगायतका तयारी खानाहरु बढी म्याद सकिएका भेटिएका छन् ।

बजार अनुगमनका कानुनी व्यवस्था
संवैधानिक व्यवस्था र प्रचलित उपभोक्ता संरक्षण ऐन, २०५४ एवं नियमावली, २०५६ लगायतका दर्जनौँ कानुनमा उपभोक्ताका अधिकारलाई सुरक्षित गर्न बजार अनुगमन प्रभावकारी हुनुपर्ने व्यवस्था रहेको छ । कालोबजारी, बढी मूल्य असुल्ने र मिसावट गरी उपभोक्ताको जीउ ज्यान, स्वास्थ्य र सम्पत्तिमा हानी पुर्याउने दोषीलाई कारबाही गरी बजारलाई स्वस्थ्य र स्वच्छ पार्न सरकारले निती ल्याएको छ ।

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस