सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेस कार्यकर्ताबीच मंगलबार सर्लाहीमा भएको झडपमा गोली चल्दा एक कांग्रेस कार्यकर्ताको ज्यान गएको छ । रामनगर गाउँपालिका–४ बहुअर्वामा स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको हो । गोलीको छर्रा लागेर सात घाइते भएका छन् ।
बिहान ६ः३० बजेतिर आफ्नै घरअगाडि गोली लागेर रामविलासको मृत्यु भएको कांग्रेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले बताए । नेकपाका कार्यकर्ताले गोली चलाएको आरोप कांग्रेसले लगाएको छ ।
घाइते लिन आएको एम्बुलेन्समा समेत तोडफोड गरिएको छ । खरले छाएका दश घरका छाना भत्काइएको छन् ।
गोली चलाउने व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले बताएको छ । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार नागरिकता बनाउन सिफारिस लिन जाने क्रममा नेकपाका कार्यकर्ताको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष हुन् । विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको स्थानीयवासिन्दा बताउँछन् ।
हत्यामा संलग्नलाई कारबाहीको माग
कांग्रेसले रामविलास महतो हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर मृतकलाई सहिद घोषणा गर्न तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न उसले माग गरेको छ ।
‘सर्लाही रामनगर गाउँपालिका–४ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामनरेश महतोका काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेका छन्, उनीहरूले एक्कासि कुटपिट र गोली चलाएका थिए,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ । कांग्रेसले महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुसवाहा गम्भीर घाइते भएको पनि जनाएको छ ।
भतिजमाथि आक्रमणको भोलिपल्ट काकाको हत्या
सोमबार बहुअर्वामा वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वा्चित भएका हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँचिएको छ । मंगलबार गोली लागेर मृत्यु हुने रामविलास वडाध्यक्ष रामनरेशका काका हुन् ।