स्याङजाली र भक्तपुरको टोलीबिच कालिकोटमा झगडा, नगर प्रमुख घाइते

कालिकोट । रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुखको टोली र रारा जाँदै गरेका भक्तपुरको टोली बीच कालिकोटमा झगडा हुदाँ नगरपालिका प्रमुख घाइते भएका छन् । सरकारी खर्चमा राराताल भ्रमणमा आएको नगरप्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोली बीच मदिरा सेवन गरी मासु खाने विषयमा विवाद परेपछि झगडा भएको हो ।

शनिबार राति दुबै टोली कालिकोटको सनलाइट होटेलमा बास बसेको समयमा नगर प्रमुख गिरी र भक्तपुरको टोली बीच च्याङग्राको मासु खाने बिषयमा विवाद भएको थियो ।

झगडामा नगर प्रमुख गिरीसहित उनका स्वकिय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएका छन् । नगर प्रमुख गिरीको टाउकोमा ५ वटा टाँका र मल्ललाई १६ वटा टाँका लगाइएको छ । उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

कुटपिट पछि आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए । ‘दुबै टोली एउटै होटेलमा बसेका बेला च्याङग्राको मासु पोलेर खाने बिषयमा झगडा भएको हो,’ उनले भने, ‘दुबै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए ।’

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस