
केपी शर्मा ओली
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नेकपा
भर्खरै अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली तिहारभर आफ्नै निवासमा आराम गर्नेछन् । प्रधानमन्त्री तिहारभर औपचारिक कार्यक्रममा ननिस्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । बिरामी हुँदा गर्नुपर्ने काम धेरै छुटेकाले अध्ययन गर्ने, फाइल सदर गर्ने काम गरेर बस्ने प्रेस सल्लाहकार अर्यालले बताए । प्रधानमन्त्रीले तिहार पनि आफ्नै निवासमा मनाउनेछन् । प्रधानमन्त्री ओलीले अनुकूल पर्दा तिहारमा सधैँ टीका लगाउने गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेकपा
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तिहारमा कहिल्यै टीका लगाउँदैनन् । जनयुद्ध होस् या शन्ति प्रक्रियापछि दसैँ तिहारमा टीका नलगाउने गरेको उनका स्वकीय सचिव गंगा दाहालले बताइन् । अध्यक्ष दाहाल तिहारभर आफ्नै निवास खुमलटारमै रहने र घरमै बसेर अध्ययन गर्ने, फुर्सदमा नेता कार्यकर्तासँग भेटघाट गर्ने स्वकीय सचिव दाहालले बताइन् ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
कांग्रेस सभापतिको शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमै तिहार मनाउँदै छन् । देउवानिवासमा तिहारमा बर्सेनि देउसी र भैलो खेल्न विभिन्न टोली आउने गरेको जानकारी सहयोगी भानु देउवाले दिए । तिहारका यसअघिजस्तै देउवाले कांग्रेस नेतृ मीना पाण्डे र बहिनी गोमा शाहसँग भाइटीका लगाउनेछन् ।
झलनाथ खनाल
वरिष्ठ नेता, नेकपा
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भाइटीका रमाइलो पर्वका रूपमा मनाउँछन् । उनका १० दाजुभाइ २ दिदीबहिनी छन् । धेरै वर्षपछि यसपटक जेठी दिदी र बहिनी झापाबाट काठमाडौं आएका छन् । भक्तपुरस्थित राम आचार्यको घरमा खनाल दिदीबहिनीको हातबाट टीका लगाउने
खनालले बताए ।
रामचन्द्र पौडेल
वरिष्ठ नेता, नेपाली कांग्रेस
ज्वाइँको निधन भएका कारण कांग्रेस नेता रामचन्द्र पौडेलको परिवारमा यसपटक तिहारको कुनै कार्यक्रम हुने छैन । दसैँको वेला पौडेल परिवारसहित तीर्थयात्रामा गएका थिए । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार पौडेलको तिहारपछि राजधानीबाहिरका विभिन्न जिल्लामा जाने कार्यक्रम छ ।
महन्थ ठाकुर
अध्यक्ष मण्डलको संयोजक, राजपा
राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर मध्यतिहारको दुई दिन काठमाडौंमै बिताउनेछन् । उनले भाइटीका लगाउने छैनन । तर, घरमा देउसीभैली खेल्न आउनेसँग रमाउनेछन् । २२ कात्तिक दिउँसो अध्यक्ष ठाकुर आफ्नो निर्वाचन क्षेत्र जानेछन् । २३ कात्तिक दिउँसो काठमाडाैं आउनेछन् । २६ मा पुनः आफ्नो निर्वाचन क्षेत्रमा जानेछन् र यो बसाइ भने छठ पर्व मनाउनका लािग हुनेछ ।
http://www.nayapatrikadaily.com/2018/11/07/112476/