काठमाडौं, सरकारले चालू आवमा ३५ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। ‘एक नागरिक, एक पृथक् परिचय नम्बरसहितको परिचयपत्र’ अवधारणासहित १५ जिल्लाका नागरिकलाई परिचयपत्र वितरण गर्न लागिएको हो । व्यक्तिगत तथा जैविक विवरण रहने राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्डमा १० डिजिटको नम्बर हुनेछ । यो वर्ष प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई समेटेर परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए । राष्ट्रिय परिचयपत्र वितरणका लागि विभागले तीनबर्से रणनीतिक योजना बनाएको उनको भनाइ छ ।
पहिलो वर्ष १५, दोस्रो वर्ष २५ र बाँकी तेस्रो वर्षमा गर्ने योजना बनाइएको उनले बताए । पाँच वर्ष सबै नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने लक्ष्य छ । सरकारले चालू आवमा पहिलो चरणमा पाँचथरका एक लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई परिचयपत्र दिनेछ । प्रदेश १ को पाँचथरबाट मंसिर ३ गते परिचयपत्र वितरण सुरु हुन लागेको जीशीले बताए । त्यसका लागि सिंहदरबार र पाँचथरमा व्यक्तिगत विवरण संकलन भइरहेको छ । बुधबारसम्म सिंहदरबारमा ३ हजार र पाँचथरमा ५१ हजारको व्यक्तिगत विवरण संकलन भइरसकेको छ ।
कात्तिक १५ गतेदेखि प्रशोधन प्रणालीका माध्यमका कार्ड उत्पादन (प्रिन्ट) गरिँदै छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सूचनाप्रविधि आयोजनाले डिसेम्बरभित्रै सिंहदबार र पाँचथरमा परिचयपत्र वितरण गरिसक्नेछ। आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ। आयोजनाले सिंहदबारमा सूचना प्रणाली भण्डारण प्रणाली र प्रशोधन केन्द्रसमेत स्थापना गरेको छ । चालू आवमै प्रदेश १ को संखुवासभा र झापा, प्रदेश २ को महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, चितवन र रसुवा, गडण्कीको तनहँु र स्याङ्जा, प्रदेश ५ को गुल्मी र कपिलवस्तुमा परिचयपत्र वितरण गरिनेछ । कर्णालीको सल्यान र जुम्ला तथा सूदुरपश्चिमको कञ्चनपुर र अछाममा पनि चालू आवमै परिचयपत्र वितरण गरिने जोशीले जानकारी दिए। प्रत्येक जिल्लाका १६ वर्ष पुगेको नागरिकलाई परिचयपत्र दिइँदै छ ।