जुम्लाको कोईरेली गाँउ ‘मानव अधिकारमैत्री’ घोषणा

नन्दराम जैसी,

जुम्ला । जिल्लाको हिमा गाँउपालिका २ मा पर्ने कोईरेली गाँउलाई ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरीएको छ । कोईरेली गाँउ कर्णालीको तेस्रो तथा जिल्लाकै पहिलो ‘मानव अधिकार मैत्री’ गाँउ बनेको छ । ३८ घरधुरी रहेको कोईरेली गाँउ यसअघि छाउपडि, बालविवाह, दाईजोप्रथा तथा छुवाछुत मुक्त घोषणा भैसकेको छ । भने मद्यपान तथा धुम्रपान मुक्त समाज बनेको छ ।

कोईरेली गाँउले ‘मानव अधिकार मैत्री’ गाँउको न्युनतम सुचक पुरा गरेपछि मंगलबार औपचारीक कार्यक्रमकासाथ घोषणा गरीएको वडा अध्यक्ष नैनसिंह रोकायाले बताए । घोषणामा मात्र नभएर कार्यान्वयन र ब्यवहारमा पनि मानव अधिकार मैत्रीका सुचक लागु गरिने उनको भनाई छ । यो गाँउमा निर्माण हुने सबै भौतिक संरचनाहरु पनि बालमैत्री, अपांगमैत्री र सबैको पँहुजयुक्त बनाउने गरीएका छन् । लामो समयदेखि गाँउमा विकासे गतिविधि तथा ब्यक्तिगत चेतना र क्षमता अभिबृद्धिका लागि काम गर्दै आएको संस्था किर्डाक नेपाल र क्याड नेपालको सहजिकरण तथा गर्भनेन्स फ्यासीलीटि (जि.एफ) को सहयोगमा वडा पालिकाले ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरेको हो ।
घोषणा कार्यक्रमका अभियान्ता तथा आधार परियोजना संयोजक रोशन शाहिका उनका अनुसार ‘मानव अधिकार मैत्री’ गाँउको न्युनतम सुचकहरुमध्य गाँउमा, सबै बालबालिका विद्यालय गएको, छोरा छोरीलाई भेदभाव नभएको, घर परिवार बसेर पारीवारीक छलफल गरेको, सबै घर परिवारमा आयआर्जनका लागि ब्यवस्था छ । त्यस्तै सबै घर वरिपरी सफा भएको, विरुवा रोपेको, स्वच्छ तथा सुरक्षित खानेपानीको ब्यवस्था भएको, घरपरिवार कुनै एक जनाको नाममा लालपुर्जा भएको, लैंगिक हिंसा र घरेलु हिंसा नभएको, चर्पि, गोबरग्यास धुँवारहित चुलो प्रयोग भएको, सबै गर्भवति महिलाले गर्भजाँच, खोप, सुरक्षित सुत्केरी स्याहार सेवा पाएको लगाएतका सबै सुचक कोईरेली गाँउले पुरा गरेको उनले बताए ।

‘मानव अधिकार मैत्री’ गाँउ घोषणा कार्यक्रममा महिलाहरु देउडागित प्रस्तुत गदै ।

कोईरेली गाँउमा अधिकार र कर्तब्यका कुरा सिकाउन तथा छलफल गर्न २५ जना समुह रहेको लामाबिष्णु आधार केन्द्र पनि गठन गरीएको छ । गाँउमा अहिले भेदभाव र हिंसा अन्त्य भएको केन्द्रकि सदस्य गोरीकला रोकायाले बताईन् । उनले भनिन्, ‘चुलोचौकोमा सिमित गाँउकि महिलाले अहिले बाहिरको काम मात्रै होईन, पढ्न र बोल्न पनि सिकेका छन् ।’ आधार केन्द्रकै सहायताले महिलाले पनि पुरुष सरह समान अधिकार प्राप्त गरेको भन्दै महिनावारी (छुई) भएकि महिलाहरु गोठदेखि घरसम्म पुग्न सफल भएको पदमकला रोकायाले बताईन् । गाँउ नजिकैको हिमा आधारभुत विद्यालयमा संरचना मात्र नभई ब्यवहार पनि बालमैत्री हुने गरेको छात्र नरेश रोकायाको भनाई छ । गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपराज आचार्यले अधिकारमैत्री कुरामा कोईरेली गाँउ पालिकाकै नमुना बनेको भन्दै त्यसको सिको अन्य गाँउले पनि गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति सदस्य जयराज भारतिले ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा भन्दा कार्यन्वयनमा चुनौति रहेको बताए । आगामि दिनमा पनि सो गाँउलाई नमुनाको रुपमा विकास गरी सबैको अनुगमन र भ्रमण स्थलको रुपमा चिनाउन आवाश्यक रहेको उनको भनाई छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त प्रमुख धनराज शाहिले गाँउका सबै नागरीकहरुले आफ्नो अधिकार स्वतन्त्र रुपमा घरमै पाएको अनुभुति गर्नुपर्ने बताए । ‘आगामि दिनमा वडा पालिकाले राज्यबाट दिने सबै सेवा सुविधा कोईरेलीबासीको घरदैलोमै दिनुपर्छ, नत्र ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरेको अर्थ हुदैन’ उनले भने, ‘समाज विरुद्धका संस्कृति अन्त्य गरी मानव अधिकार मैत्री ब्यवहार गरौँ, र कसैले पनि हिंसा सहेर नबसौ ।’

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस