
नन्दराम जैसी,
जुम्ला । देश लोडसेडिङ मुक्त घोषणा भैसक्दा समेत जुम्लाबासी अँझै टुकिको भरमा रात काट्न विवश छन् । आठ वटा स्थानियतह सहित झण्डै एक लाख २० हजार जनसंख्या रहेको जुम्लाका १८ हजार घरधुरीमध्य करीब पाँच हजार घरधुरी मात्रै विधुत्को पहुँजमा छन् । विगत एक दशकदेखि जुम्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसददेखि नेताहरुले पाँचबर्षभित्र अध्याँरोमुक्त जिल्ला बनाउने उद्घोष गरेका थिए । तर अधिकांश जुम्ली जनताले भने अँझै क्यान्डल, टुकि, झरो र सौर्य उर्जाकै भरमा रात काट्नु परीरहेको छ ।
विगत तीन बर्षयता दैनिक १४ घण्टा लोडसेडिङको सास्ती खेप्दै आएका सदरमुकामबासी समेत यतिखेर टुकि, क्यान्डलको भरमा रात काटिरहेका छन् । दैनिक १४ घण्टाको लोडसेडिङ हटाउन भन्दै घुघुतिस्थीत साना जलविद्युत् मर्मत गर्न थालीएपछि सदरमुकामसँगै चन्दननाथ नगरपालिका नै झण्डै एक महिनादेखि अध्याँरो बनेको हो । २४ सै घण्टा लोडसेडिङ हुँदा यहाँ भाडामा बस्ने विद्यार्थी, ब्यापारी तथा कर्मचारीहरुलाई सास्ती भैरहेको छ । सदरमुकाम क्षेत्रमा मात्रै बसोबास गर्ने झण्डै आठ हजार नागरीक लोडसेडिङको चरम सास्तीमा छन् । उद्योग सञ्चालनमा पनि उत्तिकै सकस भएको छ ।
पुर्ण लोडसेडिङले कार्यालयको सेवा प्रवाहमा समेत समस्या परेको चन्दनाथ नगरपालिकाका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए । उनले भने, ‘विद्युत्को भरै छैन, कार्यालयको काम सहज होस भनेर वैकल्पिक ऊर्जा सोलारको व्यवस्था गरेका छौँ’ । गाँउबाट सदरमुकाम आएर कक्षा ११ पढ्दै गरेकि छात्रा धनसरा शाहिले लोडसेडिङले अध्ययन नै प्रभावित भएको बताईन् । उनले भनिन्, ‘भाडाको घरमा बैकल्पीक उर्जाको ब्यवस्था नहुँदा मोबाईल समेत चार्ज गर्न पाईएको छैन, जसले गर्दा आफन्तसँग पनि सम्पर्क बिहिन छौ ।’
बिजुली आउँदैन, बिल आउँछ
थेग्न नसक्ने ग्राहाक सङ्ख्या र पुराना मेसिनले कामचलाऊ उत्पादन गरिएपछि सदरमुकाम स्थीत साना जलविद्युतका अधिकांश ग्राहाकले यसअघि बिजुली नबाली महसुल तिर्ने गरेको बताएका छन् । पाँच सय घरधुरीका लागि उत्पादीत दुई सय किलोबाट क्षमताको विद्युत्का ग्रहाक अहिले झण्डै ३५ सय पुगेपछि समस्या भएको हो । तत्कालिन राजा विरेन्द्र सरकारको सहयोगमा २०४० माघ २० बाट विधुत् संचालनमा आएको थियो । उपभोक्ता शेरबहादुर बुढाले भने, ‘कतिखेर विद्युत् आउँछ, जान्छ पत्तो हुँदैन, विद्युत् नबालेरै हाम्रो पैसा जान्छ, वैकल्पिक ऊर्जा सोलार र दियालोको जोहो गर्ने समस्या टरेको छैन ।’ साना जलविद्युतका लागि उपलब्ध जुगाड खोलामा पानीको बहाव घट्दै जानु र विद्युतगृहको मेसिन जीर्ण हुनुले विद्युत् उत्पादन घटेको समितिका इन्र्चाज हर्कबहादुर बोहोराले बताए ।
लोडसेडिङ छिटै हट्छ,
साना जलविद्युत उपभोक्ता समितिद्वारा आपूर्ति हुँदै आएको विद्युत्को यतिखेर मर्मत कार्य भैरहेकाले अबको एक महिनापछि जिल्ला सदरमुकाममा लोडसेडिङ अन्त्य हुने समितिले जनाएको छ । समितिको पावर हाउसमा नयाँ मेसिन जडान कार्य भैरहेको छ । भारतीय दुतावासको सहयोगमा खरीद गरिएको मेशिन ३५ वर्षपछि जडान गरीएको हो । पुसको दोसो्र साताभित्र विधुत सञ्चालनमा आउने समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । उनका अनुसार मेसिन ३९ करोड ९ लाख लागतमा जडान गरीएको हो ।
यस्तै जिल्लाका स्थानिय तहले उज्यालो अभियानको नारासँगै आ आफ्नो तहलाई पुग्ने गरी विधुत् उत्पादनमा जोड दिईरहेका छन् । दुई बर्षभित्र तातोपानी गाँउपालिकालाई पनि अध्याँरो मुक्त बनाउने गरी पालिकाले योजना र बजेटको ब्यवस्थापन गरेको अध्यक्ष नवराज न्यौपानेले बताए । जिल्लालाई नै अध्यारो मुक्त बनाउने ध्ययेले कर्णाली प्रदेश सरकारको लगानीमा एक मेघावाटको चुकेनि जलविधुत् आयोजना पनि तिब्र रुपमा अघि बढिरहेको छ ।