‘लाज ढाक्न’ मधेषदेखि पहाडसम्मको यात्रा

घरघरमा पुगि कुकर मर्मत गर्दै गरेका जयराम शाह ।

नन्दराम जैसी । जुम्ला,

फतुवा विजयपुर नगरपालिका ५ रौतहटका जयराम शाह बिग्रेका प्रेसकुकर बनाउने पेशाको क्रममा जुम्ला पुगेका छन् । ३२ बर्षिया शाह बिग्रेका प्रेसकुकरहरु बनाउने क्रममा मधेषहुँदै पहाडसम्म पुगेका हुन् । करीब पाँच महिना यता उनले जुम्लाका विभिन्न गाँउठाँउमा समेत धाईरहेका छन् । जुम्लाका प्रमुख बजार क्षेत्र तथा ठुला बस्तीहरुमा पुगेर सदरमुकाम फर्किएका उनी जुम्लामा मात्रै हजारौ कुकर मर्मत गरेको बताउँछन् । विगत दुईहप्ता यता सदरमुकाम खलंगाका प्रत्येक गल्ली गल्ली, घरघरमा धाएर उनले बिग्रेका कुकर सस्तो मुल्यमै मर्मत गरीरहेका छन् । उनि कुकरसँगै ग्यास चुल्हो, हिटरहरु पनि मर्मत गरीरहेका छन् ।

घरघरमा पुगि कुकर मर्मत गर्दै गरेका जयराम शाह ।

‘अन्य ब्यापार गरौै, धन, सम्पति र सिप छैन, मेरै भरमा पाँच जनाको घरपरिवार छ’ उनले भने, ‘परिवारको भोको पेटपाल्न र समाजमा लाज ढाक्नकै लागि भएपनि बिग्रेका कुकर बनाउँदै मधेषदेखि, हिमाल, पहाडसम्म धाईरहेको छुँ ।’ मधेषमा कुकर बनाउनेको संख्या धेरै भएपछि पहाडतिर छिरेको उनले बताए । जुम्लाका लागि यो पेशा नँया र आफ्ना लागि अवसर भएकोले कमाई पनि राम्रै भैरहेको उनले महशुस गरेका छन् । उनले भने, ‘यँहा दैनिक दुई हजारसम्म कमाई भैरहेको छ, खाना, बस्न खर्च गरेर मासीक ३० हजार बचत गर्छुँ ।’

गाँउघरमा खासै काम नपाईने र पाईपनि कम ज्यालामा गर्नुपर्ने भएकाले आफुले यो पेशा रोजेर हरेक जिल्ला धाईरहेको शाहले बताए । १० बर्षदेखि थालेको यसै पेशाबाट तीन छोराछोरीको पढाई खर्चसँग घरखर्च धानेको उनको भनाई छ । ‘स्थानिय सरकारले पढेलेखेकालाई त रोजगार दिन सकेको छैन, हामीजस्ता अनपढलाई के रोजगार दिन्थ्यो’ उनले थपे, ‘छोराछोरी हुर्किन्जेल र मेरो शक्ति रहुन्जेल यसैगरी जिल्ला जिल्ला घुमेर कमाउँछु ।’ उनका दाजुभाईले भारतमा काम गरेर घरपरिवार संचालन गरीरहेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस