जुम्ला ः विपन्न महिललाई स्वारोजगार बनाउने र तिला गाउँपालिकाले गाउँपालिकामा ढाका उद्योग सञ्चालन गर्नका लागि तिन महिने ढाका बुनाई तालिम सुरु गरेको छ । स्थानीय विपन्न महिलालाई सिप सिकेर स्वारोजगार पनि हुने पछि उद्योग सञ्चालनमा सहज हुने उद्देश्यले ढाका बुनाई तालिम सुरु गरेको हो । घरेलु तथा साना विकास उद्योग समिति जुम्ला र तिला गाउँपालिकाको समन्वयमा उक्त तिन महिने आबासीय तालिम सुरु गरेको हो ।
जेठ महिनाको दोस्रो सातासम्म सञ्चालन हुने तालिममा गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको अध्यक्ष रतननाथ योगीले बताए । उनले भने यहाँका विपन्न र सिप सिक्ने जागर भएका महिलालाई छनौट गरी फागुन १७ गते ढाँका बुन्ने तालिम सुरु गरेका छौँ । मुलुक अहिले आधुनिकता भन्दा स्थानीय उत्पादनका बस्तुमा बढी रुचाउने भएकाले पनि गाउँपालिकामै ढाँका उद्योग संचालन गर्ने उद्देश्यले यो सिप सिकाउन आवश्यक भएको हो ।
साना तथा घरेलु विकास समितिका नायव सुब्बा देविराम न्यौपानेका अनुसार मागका आधारमा घरेलुले काम गर्दै आएको छ । उनले भने घरेलुले जुम्लामा धेरै उद्यमी उत्पादन गरेको छ तर व्यवसायिक रुपमा काम गरेको कमै देखिने गरेको छ । सिप सिकेर आधिकारीक रुपमा दर्ता भएका उद्योगलाई उपकरण तथा तान खरिदका लागि रु एक लाख सम्म अनुदान दिने पनि व्यवस्था रहेको छ । उनले भने काम गर्नेलाई राज्य धेरै लगानी गरेको छ तर यहाँ इच्छा शक्ति र लगनशिलताको खाँचो रहेको छ ।
ढाँका बुन्ने तालिमका प्रशिक्षक दैलेखका मसान्ती भण्डारीले आफुले पनि घरेलुको तालिमबाट प्रशिक्षक भएको बताईन् । उनले भनिन् हाम्रो ८ जनाको समुह थियो रामेछापका प्रशिक्षकले ढाँका बुन्ने सिप सिकाए पछि अहिले दैलेखमा उद्योग संचालन गरेका छौँ । यहाँका प्रशिक्षार्थीहरुलाई दक्ष बनाएर ढाँका बुन्न सक्ने बनाउने प्रतिबद्धता गर्नुभयो । प्रशिक्षकको मात्र सिप सिकाउने इच्छा शक्ति भएर हुदैन सिप सिक्ने सहभागीहरुको पनि मेहनत र लगनशिलता हुनु पर्ने उनले बताईन् ।
तालिमका सहभागी बविता कुँवरका अनुसार यसै तालिमबाट सिकेको सिपबाट स्वारोजगार बन्ने अपेक्षाका साथ सिप सिक्न आएको बताउनुभयो । त्यसैगरी तातोपानी गाउँपालिकाले पनि १० जना विपन्न महिलालाई छनौट गरी ढाँका बुन्ने तालिम सुरु गरेको छ ।