जुम्ला : जुम्लाको तिला गाउँपालिका–५ चुलाकोटकी आशा कामी ढाका बुनाइमा व्यस्त छिन् । पहिले खेतीपातीमा समय बिताउने उनी यतिवेला ढाका रुमाल, पछौरालगायत ढाकाकै विभिन्न सामग्री बनाउने काममा तल्लीन हुने गरेकी छन् । आशाजस्तै तिला गाउँपालिका– ३ कुडारीकी कल्पना भट्टराई पनि ढाका बुन्दै नयाँ सीप सिक्न थालेकी छिन् ।
तिला गाउँपालिकाले महिलालाई स्वरोजगार बनाउने र गाउँपालिकामा ढाका उद्योग सञ्चालन गर्ने उद्देश्यले गत फागुनदेखि सञ्चालन गरेको तीनमहिने ढाका बुनाइ तालिममा उनीहरू सहभागी भएर सक्रिय रूपमा सीप सिकिरहेका छन् । तालिममा गाउँपालिकाका १० जना महिला सहभागी छन् । उनीहरू सबैले सीप सिकेर आफैँ उद्योग सञ्चालन गर्ने र ढाका बुनाइबाट आयआर्जन गर्दै स्वरोजगार बन्ने उद्देश्य भएको बताए ।
जिल्लामा ढाका बुनाइबाट मनग्ये आम्दानी गर्न सकिने प्रशिक्षक मशान्ति भण्डारीले बताइन् । दैलेखबाट जुम्लामा सीप सिकाउन आएकी उनले भनिन्, ‘जुम्लामा ढाका कपडा बनाउने उद्योग छैनन् । सीप सिकेका दिदीबहिनीले सजिलै ढाका बुनाइबाट मनग्ये आम्दानी गर्न सक्छन् । महिलाले बिहान, बेलुका फुर्सदको समयमा घरमै ढाका बुनाइबाट राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ । उनका अनुसार अहिले जिल्लामा ढाकाको एउटा रुमालको सयभन्दा बढी रुपैयाँ पर्छ । ढाकाका अन्य जुनसुकै कपडा बुने पनि सजिलै बिक्री गर्न सकिन्छ ।
तिला गाउँपालिकामा सञ्चालन भएको आवासीय तालिम घरेलु तथा साना विकास उद्योग समिति जुम्ला र तिला गाउँपालिकाको समन्वयमा १५ लाखको लागतमा सुरु गरिएको हो ।
तालिम जेठ महिनाको दोस्रो सातासम्म सञ्चालन हुनेछ । गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार विपन्न र सीप सिक्ने जाँगर भएका महिलालाई छनोट गरी फागुन १७ देखि तालिम दिन थालिएको हो । उनले भने, ‘मानिसहरू आधुनिकताभन्दा स्थानीय उत्पादनका वस्तुमा बढी आकर्षित भएकाले गाउँपालिकामै ढाका उद्योग सञ्चालन गर्न आवश्यक छ ।’ साना तथा घरेलु विकास समितिका अनुसार मागका आधारमा घरेलुले काम गर्दै आएको छ ।