कांग्रेसले गठन गरर्यो छायाँ सरकार, कुन मन्त्रालयको जिम्मा कसलाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार छायाँ सरकार गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधान अनुसार छायाँ सरकारको रुपमा क्रियाशिल रहने र कार्यसम्पादन गर्ने गरि २१ मन्त्रालय तोेकेर जिम्मेवारी दिएका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय हेर्ने गरी ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल सदस्य तोकिएका छन् ।

परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्काको संयोजकत्वमा डा. अमेरश कुमार सिंह र दिव्यमणी राजभण्डारी सदस्य छन् ।

त्यसैगरी अर्थमन्त्रालयको जिम्मेवारी डा. मिनेन्द्र रिजाल संयोजकत्वको टिमलाई दिइएको छ । उनको नेतृत्वमा मीना पाण्डे र विनोद कुमार चौधरी रहेका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद वडु संयोजक रहेको टिमलाई दिइएको छ । उनको संयोजकत्वमा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्बूले सदस्यको जिम्मेवारी वहन गर्नेछन् ।

शहरी विकास मन्त्रालयमा उमाकान्त चौधरीसहित मीनाक्षी झा संयोजक र रामबहादुर विष्ट सदस्य तोकिएका छन् ।

युवा तथा खेलकूद मन्त्रालयका लागि किशोर सिंह राठौरको संयोजकत्वमा रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय सदस्य रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मीनबहादुर विश्वकर्मालाई प्रमुख जिम्मेवारी र विन्दा देवी आले राना र कर्मा घले सदस्य छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि गगन कुमार थापा संयोजक तोकिएका छन् । उनको समुहमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी छन् ।

खानेपानी मन्त्रालयका लागि सुजाता परियार संयोजक, मिना सुब्बा र नागेन्द्रकुमार राय सदस्य रहेको टोली बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि पार्वता डि.सी. चौधरीको संयोजकत्वमा सीताराम महतो र मोहन आचार्य सदस्य रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हेर्ने गरी देवेन्द्रराज कण्डेल संयोजक तोकिएका छन् । उनको समुहमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकमा डा. डिला संग्रौला पन्तको संयोजकत्वमा प्रकाश पन्थ सदस्य छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बहादुर सिंह लामा संयोजक तोकिएका छन् । सूर्यबहादुर केसी र विमला नेपाली उनको समुहमा छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा लक्ष्मी परियारको नेतृत्वमा प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न अतहर कमाल मुसलमान सयोजक, तेजुलाल चौधरी र धनकुमारी खतिवडा सदस्य छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयमा पद्म नारायण चौधरी संयोजक तोकिएका छन् । उनको समुहमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उमा रेग्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ । लालकाजी गुरुङ्ग र हिरा गुरुङ्ग उनको समुहमा छन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी पूर्व रक्षामन्त्री भिसेनदास प्रधानले पाएका छन् । उनको समुहमा अभिषेक प्रताप शाह छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सञ्जय कुमार गौतमले संयोजकको जिम्मेवारी पाएका छन् । उनको समुहमा जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन् ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा राजेन्द्रकुमार केसी संयोजक र मुक्ताकुमारी यादव सदस्य तोकिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारी संयोजक तोकिएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस