अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई ‘बधाई’

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन् ।

भारतीय लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको छ । मोदीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्सले बहुमत स्थानमा अग्रता लिएको छ, तर अन्तिम परिणाम भने राती मात्र सार्वजनिक हुने छ ।

यो ट्वीटपछि बधाई दिन हतार गरेको भन्दै कतिपय ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री ओलीलाई व्यंग्य र आलोचना पनि गरेका छन् ।

मोदी सरकार निरन्तरताको संकेत

भारतको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानैबाट सुरु भएको छ । प्रारम्भिक मतपरिणामले भाजपाले नरेन्द्र मोदी नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिन सक्ने संकेत गरेको छ ।

नेपाली समयअनुसार बिहान साढे ११ बजेसम्मको मतगणनाअनुसार सत्तारुढ भारतीय जनता पार्टीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्सले बहुमत स्थानमा अग्रता लिएको छ । ५४३ सिट भएको लोकसभाका ३२३ स्थानमा अहिले भाजपा उम्मेद्वार अगाडि छन् ।

यस्तै, भारतीय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्सले ९७ स्थानमा अग्रता लिएको छ भने अन्य दल १२१ स्थानमा अगाडि छन् । मतगणना आज रातीसम्ममा सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

समाचार, नँया पत्रिकाबाट ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस