
नन्दराम जैशी,
जुम्ला । सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरीएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । जसअनुसार सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु) मा कृषकले मार्सी रोकेका छन् । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहेपनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुननदिन पातारासी गाँउपालिका र कर्णाली कला केन्द्रको आयोजनामा छुमचौर ज्युलोमा सामुहिक रोपाई गरीएको हो । मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरीएको थियो ।
जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यँहा धान पाक्दैन । कृषि विज्ञ बालकराम देबकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने एक सय ५० देखि एक सय ६५ दिन हो, असारमा धान रोपे कार्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ ।’ गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार समुन्द्री सतहदेखि दुई हजार सात सय ९० मिटर उचाई जो विश्वकै अग्लो स्थान जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन् । बजारमा मार्सीको माग बढ्दो छ । तर ब्लास्ट रोगको संक्रमण र असिना पानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको १३ सय हेक्टरमा मार्सी खेति हुदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ । पातारासी गाँउपालिकाको छुमचौर ज्युलो बाहेक अन्य गाँउका नागरिकले करिब एक दशकअघिदेखि मार्सी रोप्न छोडेका छन् । मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
मार्सीको इतिहाँस
जुम्ली कालीमार्सी धानको उत्पति १२ औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले भारतको कास्मीरबाट कालीमार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ । मार्सीधानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ ।
मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सीधानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जंगली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतविद रमानन्द आचार्यले बताए । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सय देखि तीन हजार मिटर) मा हुने गरेको छ ।