पातारासी गाउँपालिका–१ गडीगाउँस्थित नौ सय ९८ किलोवाट चुकेनी जलविद्युत् आयोजनाको बिहीबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आयोजनाको शिलान्यास गरेका हुन् । एक दशकअघिदेखि पहल सुरु गरिएको भए पनि अहिले आएर सफल भएको मन्त्री भण्डारीले बताए । यसको निर्माणमा प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो ।
उपभोक्ता समितिका अध्यक्ष गोर बुढाले चुकेनी जलविद्युत् आयोजना निर्माणमा ४६ करोड लाग्ने बताए । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट २५ करोड ९९ लाख तीन हजार पाँच सय ४९ बजेट छुट्याएको छ । यो एसियाली विकास बैंकले सहयोग गरेको हो ।
विद्युत्गृहका लागि २६ करोड र ट्रान्समिसन लाइनका लागि १० करोड लाग्ने उनले बताए । केही प्रतिशत स्थानीय बासिन्दाले सहयोग गर्ने र बाँकी ऋण लिइने अध्यक्ष बुढाले बताए । यसमा दुई करोड पातारासी गाउँपालिकाको लगानी रहेको छ । यसबाट पातारासीका तीन हजार तीन सय २० र चन्दननाथ नगरपालिकाका चार हजार दुई सय ७१ घरधुरी लाभान्वित हुनेछन् ।