गाउँमा स्थापित प्रहरीचौकी, स्थानीय तहका पदाधिकारी र स्थानीयको सहमतिमा हेलिप्याडस्थल छनोट भइरहेको छ । दुर्गम क्षेत्रमा कुनै पनि विपद् आउन सक्ने र महामारी फैलन सक्ने सम्भावना मध्यनजर गर्दै उद्धार कार्यलाई सहज बनाउन प्रत्येक वडामा हेलिप्याडको अवधारणा अघि बढाएको हो । हेलिकोप्टर अवतरण गर्न सहज हुनेगरी हेलिप्याडस्थल छनोट गरिनेछ । त्यस्तै, बिरामीलाई हेलिप्याडस्थलसम्म ल्याउन पनि सहज हुनेगरी पनि स्थान चयन गर्नुपर्नेछ । तत्कालका लागि सुत्केरी आमालाई सहज रूपमा उद्धार गर्न सकिने गरी हेलिप्याड निर्माण गरिन लागेको जनाएको छ ।
तिला गाउँपालिका–२ का वडाध्यक्ष कालिबहादुर रावतले तिलाका प्रत्येक वडामा हेलिप्याड निर्माण भइरहेको बताए । ‘हेलिप्याड निर्माण भएपछि बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो हुनेछ,’ उनले भने । प्रत्येक वडावासीको अनुकुलताका आधारमा हेलिप्याड बनाउन थालिएको उनले बताए । यहाँका अधिकांश वडामा सडक पुग्न सकेको छैन ।



