
जुम्ला ः कर्णाली प्रदेशका हुम्ला, डोल्पा र मुगु जिल्लामा बिहिवार दिउँसोदेखि हिमपात भएपनि जुम्लामा भने शुक्रबार विहान देखि मात्रै हिउ पर्न थालेको छ । यहाँ विहानै देखि हिमपात भएपछि अत्याधिक चिसो बढेको छ हो ।
चिसोका कारण कर्णालीका जिल्लाहरुमा जनजीवन निकै कष्टकर बनेको छ । हिमपातले कृषक भने उत्साहित छन् । समयमै हिउँ र बर्षा हुदा हिउदे बाली जौँ गहु सप्रने भन्दै कृषक उत्साहित भएका हुन् । अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य भएका छन् ।
निरन्तर हिमपात भइरहेकोले गाइबस्तु गोठ भन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ । चिसोको मार बालबालिका र बृद्धबृद्धामा बढी परेका छन् । जुम्लामा पहिलो पटक हिमपात भएको हो । धुलो र धुवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने संभावना थियो तर हिमपात भएपछि हराउने अपेक्षा गरिएको छ ।
स्थानीय कृषक जैधुर रावतका अनुसार हिमपातले कर्णालीका किसानमा निकै खुसी ल्याएको छ । उनले भने, यो हिमपात कृषि क्षेत्रको लागि उत्तम छ । लामो समय देखि हिउँ पर्ने कार्यतालिका परिवर्तन हुदै आएको थियो । कुनै वर्ष हिउँ नै नपर्ने र कुनै कुुनै वर्षमा अत्याधिक हिउँ पर्नाले समस्या हुने गरेको छ । यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतीपाती निकै राम्रो हुने उनले बताए ।
हिमपातले यातायात सेवा प्रभावित
विहानै देखिको हिमपातले यातायात सेवा प्रभावित भएको छ । यहाँको हवाई र कर्णाली राजमार्गमा हिमपात सवारी साधन सञ्चालनमा आउन नसकेपछि यातायात सेवा प्रभावित भएको हो । हिमपातले सदरमुकामस्थित बजार बन्द छन् । जुम्लाका ८ वटै स्थानीय तहका बेशी देखि उच्च हिमाली भागमा भारी हिमपात भइरहेको छ । हिमपातकै कारण सदरमुकाममा टयुसन तथा कोचिङ पढ्न आएका विद्यार्थी मर्कामा छन् । अहिले सदरमुकाममा अधिकांस पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइरहेको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन
सकेका छैनन् ।
चिसोले परीक्षार्थी प्रभावित
यहाँका निजी विद्यालयले पुस महिना देखि परीक्षा सञ्चालन गर्ने शैक्षिक तालिका भएकाले अहिले विद्यालय सञ्चालनमा छन् । चन्दननाथ नगरपालिका भित्र सञ्चालित झण्डै १० निजि विद्यालयका विद्यार्थी भने हिमपातले आधा पढेर घरफर्किका छन् ।
चन्दननाथ नगरपालिका भित्रका सामुदायिक विद्यालयको २५ मङ्सिर देखि बार्षिक परीक्षा सञ्चालन गरिएको छ । चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक महतका अनुसार परीक्षा दिन विद्यार्थी हिमपातले निकै समस्या भयो । विद्यार्थीले धेरै चिसो मानेपछि चिया, तातोपानी खुवाउदै परीक्षा दिने व्यवस्थापन गरिएको उनले बताए । उक्त विद्यालयमा एक हजार जना विद्यार्थीको संख्या छ । बढी चिसोले प्रभावित भएका विद्यार्थीलाई चिया, न्यानोको व्यवस्थापन गरेर पनि परीक्षा दिने सहज वातावरण गरिएको उनको भनाइ छ ।
रत्नचुडेश्वर माध्यामिक विद्यालय बोहोरा गाउँका शिक्षक महेश नेपालीले परीक्षा दिने विद्यार्थी हिमपात हुदा प्रभावित भएको बताए । उनले भने आज तेस्रो दिनको परीक्षा भयो । पुस पहिला सातासम्म परीक्षा सञ्चालन हुने भएकोले विद्यार्थीलाई अझै चिसोले समस्या गर्ने उनको भनाइ छ ।
हिमपात पूर्व तयारी
हिउँदमा अत्याधिक हिमपात हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै तत्कालिन कर्णालीका जिल्ला प्रशासन कार्यालयहरुले हिमपात विपद् योजना तयार गरेका छन् । जिल्लामा हिमपात विपद् व्यवस्थापनका कार्य थप प्रभावकारी र दिगो बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी जुटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताइन् । विपद् व्यवस्थापनमा गर्नुपर्ने काम ,कर्तव्य र अधिकारबारे सबै क्षेत्रमा जानकारी भइसकेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भूबनावट, कमजोर भौगर्भिक अवस्था तथा मौसमी विषमताको कारण बाढी, पहिरो, चट्याङ्ग, आगलागी तथा महामारी जस्ता प्रकोपले जनधनको क्षति हुन सक्ने भएकोले हिमपात विपद् पुर्व तयारी कार्ययोजना निर्माण भएको बताइन् ।
विपद् व्यवस्थापनका विषयमा सरकार, निजीक्षेत्र, ब्यक्ति, समुदाय सबैले सचेत हुन आग्रह गरिएको छ । जिल्लाका आठ वटै स्थानीयतहरुमा विपद् व्यवस्थापनको अवस्था, जिल्लाको शान्ति सुरक्षालाइ कसरी मजबुद गर्नु पर्ने बारेमा सबैको तयारी हुनु पर्ने देखिएको उनले बताइन् ।