प्रचण्ड माथि जुत्ता प्रहार, जुत्ता प्रहार भएको प्रचण्डलेनै थाहा पाएनन्

काठमाडौँ — आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ ।

पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवालेदाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिं राठौरले बताए ।

जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए।तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए।

जुत्ता प्रहार भएको प्रचण्डले थाहा पाएनन्
राष्ट्रिय सभागृहको कार्यक्रममा आफूलाई लक्ष्यित गरी जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल के भएको हो, भेउ नै पाउन सकेनन् ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्व अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन सकेर सिटतर्फ जाँदै गर्दा प्रचण्डमाथि लक्ष्यित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

‘अध्यक्ष प्रचण्ड सिटमा गइसक्नु भएको थियो, म पोडियम नजिकै थिएँ’ अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘जुत्ता म नजिकै आएर खस्यो ।’

कार्यक्रमको पोडियममा जुत्ता प्रहार भएको देखेपछि प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी मञ्चबाट ओर्लेका थिए । कार्यक्रममा उपस्थित केहीले तिरुवामाथि कुटपिट पनि सुरु गरेका थिए ।

तर जुत्ता प्रहार भएको प्रचण्डलाई त्यतिबेलासम्म जानकारी थिएन । पछि आफ्नो सचिवालयका सदस्यहरुसँग सोधेपछि मात्र उनले कार्यक्रमस्थलमा के भएको हो, थाहा भयो ।

‘पछि उहाँले हामीसँग ‘किन त्यसरी सबैजना गर्ल्यामगुर्लुम’ ओर्लेको भनेर सोध्नुभयो,’ सापकोटाले नयाँ पत्रिकासँग भने, ‘हामीले जानकारी गराएपछि मात्र उहाँले मञ्चमा जुत्ता प्रहार गरिएको जानकारी पाउनु भयो ।’

सापकोटाका अनुसार, प्रचण्डले तिरुवामाथि आक्रमण हुन थालेको देखेपछि ‘उनलाई केही नगर्नू’ भन्ने निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस