जुम्लामा सवारी पास वितरण बन्द

जिल्ला प्रशासन कार्यालय जुम्लाले लकडाउनका वेला सवारीसाधन चलाउन दिँदै आएको अनुमति अर्थात् पास दिन बन्द गरेको छ । लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले सूचना जारी गर्दै बुधबारदेखि कार्यान्वयन हुने गरी पहिला लिएका पास रद्द गरिएको र नयाँ पास पनि वितरण बन्द हुने जनाएका हुन् । कार्यालयबाट जारी भइरहेको सबै किसिमको सवारी पास अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको उनले बताए ।

‘दिनहुँ सवारी पासको माग बढिरहेको तर अत्यावश्यक कामभन्दा सामान्य कामका लागि पास लिन आउनेहरू बढी भएपछि नयाँ पास दिन बन्द गरेको हो,’ उनले भने ।

त्यस्तै अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारीसाधनहरू र अत्यावश्यक सेवामा कार्यरत स्वास्थ्यकर्मी र पत्रकारको आवागमन गर्दा पहिलाको सवारी पासले काम गर्ने उनले बताए । लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न केही समयसम्मका लागि पास बन्द गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस