
जुम्ला : मुलुकभर फैलिदो कोरोना भाइरस (कोभिड १९) कारणले लकडाउनमा प्रभावित भएका विपन्न घरपरिवारलाई तिला गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण गरिव तथा बिपन्न ४ सय २३ घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको हो । गाउँ कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार वडास्तरबाट विपन्न बर्गको तथ्यांक संकलन गरी राहत वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
कोरोना महामारीका कारण देश लकडाउनको समयावधि एक महिना पुग्यो उनले भने यहाँ एक महिना खाना नपुग्ने विपन्न घरपरिवार पनि छन् । अहिले उनीहरुलाई विहान बेलुका छाक टार्न समस्या भएको छ । उनै व्यक्तिहरुले मध्यनजर गर्दै राहत वितरणको तयारी गरिएको उनले बताए ।
एक सार्वजनिक सुचना जारी गर्दै सहयोग संघ संस्था, इच्छुक व्यक्ति उधोगी व्यापारी जो कोहीलाई पनि राहत सामग्री जुटाउन अपिल गरिएको तिला गाउँपालिकाले जनाएको छ ।
१ देखि ४ जना परिवारलाई ३० किलो चामल, ५ पाकेट नुन, २ पाकेट तेल दिइने छ भने ५ देखि ६ जना परिवारलाई थप ७ किलोका दरले चामल, ५ पाकेट नुन ३ पाकेट तेल दिने निर्णय भएको जनाएको छ ।
त्यसैगरी ७ देखि १० जना परिवारलाई ६० किलो चामल, ५ पाकेट नुन र ४ पाकेट तेल उपलव्ध गराइने छ । १० जना भन्दा बढि परिवार संख्या भएका घरपरिवारलाई ९० किलो चामल, ५ पाकेट नुन र ५ पाकेट तेल उपलब्ध गराइने जनाएको छ ।
पालिकालाई उच्चस्तरको मास्क ५० थान, थर्मलगन ११ थान र पिपिई सेट १५ थान आवश्यक रहेकोले सहयोग दातालाई सहयोगको अपिल गरिएको अध्यक्ष योगीले बताए ।
यसअघि तिला गाउँपालिकाले अतिविपन्न ज्यालामजदुरी गरी विहान बेलुका छाक टार्ने ६७ जना घरधुरीलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको थियो । प्रति घरधुरी ३० किलो चामल, दुई किलो दाल, नुन, तेल उपलव्ध गराएको हो ।
जुम्लाका पुर्व सविधान सभाका सदस्य देविलाल थापाको समन्वयमा द आर्ट अफ लिर्भिङ सेन्टर काठमाडौद्धारा यहाँका एक सय घरधुरीलाई अतिविपन्न घर परिचान प्रति घरपरिवार ११ किलोको दरले चालम, साढे एक किलो दाल, एक लिटर तेल, १५ पाकेट चाउचाउ र साबुन वितरण गरिएको थियो ।