सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।
स्थायी कमिटी बैठक स्थगित भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै बिहीबार उनले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको जानकारी दिए । संसद् भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक–दुई दिनभित्र बोलाउँछौँ ।’
स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।
संसद् सभाहलकाे निरीक्षण
अध्यक्ष प्रचण्डले आज नै संसद् सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिए । ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो, तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ,’ उनले भने ।