
लकडाउनले गर्दा, कृषि, पर्यटन, होटल व्यवसाय, खानीजन्य उद्योग, जलविद्युत सँग परियोजना देखि लिएर साना उद्योग कलकारखाना सबै बन्द भएपछि १ लाख श्रमिक विगत ६ महिनादेखि रोजगार विहीन भएको जुम्लाका तथ्याङ्क अधिकृत शङ्कर भट्टले बताए । तथ्याङ्क अनुसार कर्णालीका १० वटै जिल्लाका गरी ४२ हजार ८ सय ७ वटा आर्थिक प्रतिष्ठानमा कार्यरत एक लाख बढी श्रमिकले रोजगार गुमाएका हुन् ।
अधिकृत भट्टले भने, “तथ्याङ्क कार्यालय जुम्लाले जुम्ला, मुगु र डोल्पाका तीन जिल्लाको तथ्याङ्क हेर्छ । तीन जिल्लाका ५ हजार ७ सय २० आर्थिक प्रतिष्ठानमा कार्यरत १७ हजार ५ सय ३७ जना श्रमिक काम विहीन भएका छन् ।”
जसमा जुम्लाका ८ हजार ४ सय ६३, मुगुका ५ हजार ८ सय ४९ र डोल्पाका ३ हजार २ सय २५ जना यति बेला काम विहीन भएको तथ्याङ्क अधिकृत भट्को भनाई छ । कर्णालीमा सञ्चालित ४२ हजार उद्योगधन्दा, व्यवसाय आर्थिक आम्दानी सँग सम्बन्धित प्रतिष्ठान मध्य ५१ प्रतिशत अर्थात् अर्थात् २१ हजार ९ सय २४ व्यवसाय दर्ता बिना नै सरकारलाई कर छलिरहेका छन् । जसले गर्दा कर्णाली सरकार आन्तरिक आम्दानीमा कमजोर देखिएको छ ।
जारी लकडाउन कोरोनाको त्रासले गर्दा कर्णालीमा औद्योगिक गणना पनि हुन सकेको छैन । राज्यको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले गरिरहेको योगदानको तथ्याङ्क सङ्कलन गर्ने औद्योगिक गणना कोरोनाकै कारण ठप्प भएको छ ।
छ महिना देखि जारी लकडाउनले गर्दा रोजगारी गुमाउने सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतका रहेका छन् । भने सबैभन्दा कम हुम्ला जिल्लाका रहेका छन् । यता उद्योगी रामकृष्ण चौलागाँईले भने,“उद्योग खोलेर श्रमिकलाई रोजगारी दिन सकिन्छ, नसकिने हैन, तर यसका लागि सरकारले ठोस निर्णय गर्नु पर्छ । उद्योगमै आइसोलेसन देखि क्वारेनटाइन बनाएर पनि उद्योग सञ्चालनमा ल्याउन सक्छौ । तर अवस्था सँगै सरकारी निर्णय पनि अनुकूलन नहुँदा समस्या भएको छ ।”