जुम्ला : सिंजा भेगको केन्द्र विन्दमा पर्ने नराकोट बजारमा बधशाला निर्माण गरिएको छ । निर्माण कार्यसम्पन्न पश्चात भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सोमबार उद्घाटन गरेपछि बधशाला औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाको अनुदान १६ लाख ४० हजार ४ सय र २० लाख ९ हजार ८७९ रुपैया गरी ३६ लाख ५० हजार लागतमा बधशाला निर्माण भएको हो ।
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी विमला केसीले स्वच्छ मासु विक्री वितरण गर्नका लागि बधशाला निर्माण गरिएको बताइन । उनले भनिन् यसबाट यहाँका स्थानीय स्वच्छ मासु प्रयोगका साथ आर्थिक लाभ पनि हुने अपेक्षा गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार सिंजा भेगमा तीन वटा गाउँपालिका पर्दछन् । यो क्षेत्रको केन्द्र पनि नराकोट पर्ने र बजार क्षेत्र भएकाले आवश्यकता अनुसार बधशाला निर्माण गरी मासुजन्य बस्तु विक्री वितरण गर्न सहजताका लागि छनोटमा परेको उनले बताए ।
उनले भने यो भेग भेडाबाख्रा पालन गर्ने क्षेत्र पनि हो । यहाँ पाटन र चरन क्षेत्र प्रयाप्त मात्रामा भएकाले सिंजाबासी भेडाबाख्रा व्यवसायीक रुपमा बढी चासो राख्ने गर्दछन् । मासु उत्पादन क्षेत्र पनि भएकोले बधशालाबाट स्वच्छ मासु विक्री वितरण गर्नका लागि बधशाखा निर्माण गरिएको उनले बताए ।