जुम्लाको नयाँ बसपार्क सञ्चालनमा बिवाद,यातायात व्यवसायी रुष्ट

सागर परियार ।
जुम्लाको नयाँ बसपार्क संचालनमा बिवाद उत्पन्न भएको छ । निर्माण सम्पन्न भई वर्षौदेखि खाली रहेको बसपार्क आगामी माघ १ गतेबाट सञ्चालनमा ल्याउने भनिएपनि बिवाद देखिएको हो । यातायात व्यवसायीबाट कर असुली गर्ने गरी चन्दननाथ नगरपालिकाले माघ १ गतेबाट नयाँबसपार्क संचालन ल्याउने निर्णय गरेको थियो ।

तर यातायात व्यवसायीहरुले नगरपालिकाले समन्वय बिनै एकलौटी निर्णय गरेर चर्को कर असुली गरी बसपार्क संचालनमा ल्याउन लागेको भन्दै विरोध जनाएका छन् । बसर्पाक संचालनका नाममा नगरपालिकाले व्यवसायीलाई लुट्न खोजेको समेत यातायात व्यवसायीको गुनासो छ ।
शुक्रबार नगरपालिकामा संयुक्त ज्ञापन पत्र बुझाउदै सुर्खेत देउती यातायात प्राली जुम्लाका ईन्चार्ज तेजेन्द्र हितानले व्यवसायीहरुको ढाडै भाचिने गरी एकतर्फी निर्णय लादेर चर्को कर असुल्ली निर्णयको विरोधमा उत्रिएको बताए ।

उनले भने,“वर्षौदेखि खाली बसपार्क सञ्चालनमा ल्याउने निर्णय गर्नु आफैमा स्वागत योग्य छ । तर जुम्लामा रहेका आधा दर्जन बढी यातायात व्यवसायी संग समन्वय नगरी एक निर्णयबाट कर असुल्ने बसपार्क संचालन गर्ने निर्णय मान्य छैन् ।”

बसपार्क सञ्चालनका विषयमा यातायात व्यवसायी र नगरपालिका बीच वार्ता गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको तिला कर्णाली यातायात प्रालीका ईन्चार्ज देवि बहादुर रोकायाले बताए । उनले यातायात व्यवसायीका जाहेज मागलाईन उचित सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिए ।

कर्णाली राजमार्गको शुरुवातीदेखि यातायात सेवा दिदै आएका यातायात व्यवसायीलाई घाटामा पर्ने गरी महिनाको ७ हजार बढी कर असुल्ने निर्णयको चर्को विरोध भईरहेको हो ।

जुम्लामा संचालित तिला कर्णाली यातायात प्राली,नमस्ते यातायात जुम्ला प्राली, सुर्खेत देउती यातायात प्राली, सुर्खेत बुलबुले यातायात प्राली,गो कर्णाली यातायात प्राली, सनराईज यातायात प्राली र भैरबनाथ यातायात प्राली गरी ७ वटा यातायात व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस