जुम्ला पत्रकार महासंघमा पूर्वध्यक्षले नै ठोके ताला

जुम्ला ः नेपाल पत्रकार महासंघ जुम्ला शाखामा अनिश्चित कालिन तालाबन्दी गरिएको छ । प्रदेश महासंघ र केन्द्रिय महासंघले जिल्लाको निर्णयलाई उल्टाएर नयाँ सदस्यता तथा नविकरण गरेको भन्दै पूर्व अध्यक्ष भीम सार्की (कसिङर) लगायत विभिन्न पत्रकार संगठनले तालाबन्दी गरिएको हो ।
जुम्लास्थित विभिन्न पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघले सिफारिस गरेर पठाएका नयाँ सदस्य तथा नविकरण प्राप्त नभएसम्म जारी रहने गरी महासंघमा उजुरी दिएर तालाबन्दी गरिएको छ ।
तालाबन्दी गर्दै पुर्वध्यक्ष सार्कीले खारेजीमा परेका सदस्यहरुको सदस्य आउने र महासंघले सिफारिस गरेका सदस्य नआउने गरी नियतपुर्ण ढंगले भएको निर्णयलाई तत्काल सच्याउन माग गरिएको बताए ।
वर्तमान अध्यक्ष बरम बहादुर महतको सिफारिसमा पठाएका सदस्यता नआएको प्रदेश तथा केन्द्रले हचुवाका भरमा गैरपत्रकारलाई सदस्यता दिएको प्रति जुम्लाका पत्रकार संगठनहरुले विरोध जनाएका छन् ।
महासंघमा दिएको उजुरीमा भनिएको छ, “केन्द्र र प्रदेश महासंघले नेपाल पत्रकार महासंघ जुम्लालाई राजनैतिक खोल ओडाएर विभाजन गर्न लगाएको यर्थातलाई चिर्न हामी करिब ७ वटा पत्रकार संगठनहरु विधि र विधान भित्र रहन केन्द्र र प्रदेश महासंघलाई आह्वान गर्दछौ ।”
उजुरी बुझाउदै प्रेस यूनियनका अध्यक्ष इश्वरीप्रसाद देवकोटाले पत्रकार महासंघ गैर पत्रकारहरुको अखडा बन्दै गएको बताए । क्रियाशिल पत्रकारलाई सम्बोधन गर्ने कुरा त छदैछ । तर जिल्ला महासंघको सिफारिस बेगर नयाँ सदस्यता दिएर प्रदेश र केन्द्रले जुम्ला महासंघलाई राजनैतिक अखडा बनाएको उनको आरोप छ ।
केन्द्र र प्रदेशले जुम्ला महासंघको निर्णय तथा सिफारिसलाई अक्षरांस पालना नगरे आसन्न चैत २५ गते तोकिएको निर्वाचन प्रभावित हुने समेत चेतावनी दिएका छन् ।
प्रेस सेन्टर, प्रेस यूनियन, प्रेश चौतारी, पत्रकार समाज, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार समाज र प्रेस मञ्च सहित ७ वटा पत्रकार संगठनहरुले गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने माग सहित उजुरी दिएर तालाबन्दी गरेका छन् ।
पत्रकार महासघ काठमाडौले जुम्लाका १ सय ४ जना पत्रकारहरुको नामावली प्रकाशन गरेको छ । जसमध्य नियालेर हेर्दा ९० प्रतिशत गैर पत्रकार रहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस