सुधारिदै जुम्ला जलविद्युतको सेवा

जुम्ला  । भारतीय दुतावासको सहयोगमा बनेको जुम्लाको साना जलविद्युतको भर्चुअलबाट उद्घाटन गरिएको छ । जुम्लाका संविधानसभा सदस्य तथा पहलकर्ता ललितजङ शाही र भारतीय दुतावासका प्रमुख सचिव करण बंशलले सयुक्त रुपमा भर्चुअलमा उद्घाटन गरेका थिए । २०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दुताबासको साहयोगमा पुर्ननिर्माण गरिएको थियो ।

पुर्ननिर्माणको लागि दुताबासले २ करोड ६३ लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यो रकमले विद्युतको दुइवटा जेनेरेटर खरिद गरिएको थियो । अहिले विद्युतगृहमा रहेका दुबै जेनेरेटर चलिरहेका छन । २ सय २० किलोवाटको क्षमता रहेपछि १ सय ६५ किलोवाट विद्युत बलिरहेको छ । विद्युत पुर्न निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।

संविधानसभा सदस्य शाहीले भारतीय सरकारको तर्फबाट राजदुताबासको माध्यमबाट विद्युत पुर्ननिर्माणमा गरिएको सहयोग उपलब्धिपुर्ण रहेको बताए । उनले भने,‘भारत सरकारले यहाँको विद्युत मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौका संरचना निर्माण भएका छन । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो । ’

उनले यो पुर्न निर्माणले यहाँका सेवाग्राहीलाई थोरै भएपनि राहत महसुस गराएको प्रतिक्रिया दिए । भारतीय दुतावासका प्रथम सचिव करुण बंशलले कर्णालीको जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । उनले भने,‘जुम्लामा विकास गर्न पाउनु भारत सरकारको अवसर हो । यो सहयोगले जीर्ण भइसकेको विद्युतले पुर्णता पाएको छ । दृढ संकल्प सहित काम भएको छ । निरन्तर प्राविधिक सहयोग रहिरहन्छ । गुणस्तरीय सुधार भएकोमा दुतावास खुसि छ । यो भारत नेपालको विकास साझेदारको अमुल्य प्रतिक हो ।’

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाबासीको आग्रह बमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुर्न निर्माणको काम गरिदिएकोमा खुसि ब्यक्त गरे ।उनले भने,‘भारत सरकारले माया गरेको छ । विद्या लय,एम्बुलेन्स र विद्युतमा लगानी गरेको छ । यो निकै राम्रो पक्ष हो । ’

विकासको मेरुदण्ड विद्युतको पुर्न निर्माण गरेर राहतको अनुभुति दिलाएको छ । उनले भने,‘आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छौँ । ’जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भारतले विद्युतमा गरेको लगानी निकै सान्दर्भिक भएको बताए । कर्णालीको शिक्षा,स्वास्थ्य र विद्युत क्षेत्रमा भारतको चासो प्रति खुसि व्यक्त गरे ।

उनले भने,‘तत्कालिन थोरै घरका लागि निर्माण भएको विद्युत जीर्ण हुदै जाँदा समस्या भएको थियो । अहिले पुर्ननिर्माणले थोरै भएपनि राहत मिलेको छ । भारत सरकारको सहयोग प्रति जुम्लाबासी क्रृणि नै छन ।’जुम्लाको विद्युतको मेसिन २०४० सालमा ज्योति कम्पनकोे थियो । २०६४ सालमा साना जलविद्युत उपभोक्ता समितिले जिम्मेवारी लियो । मेसिनको क्षमता ह्रास हुदै गयो । सेवाग्राही बढ्न थाले ।

विद्युत लोड कम गर्न सिएफएल चिमको अवधारणा ल्यायो । त्यहीले पनि जुम्लाको विद्युतको समस्या समाधान भएन । संसद ललितजंङ शाहीको कार्यकालमा एलइडी बल्वको अवधारणा अघि बढ्यो । संसद विकास कोषको २० लाख रुपैयाँ र साना जलविद्युत उपभोक्ता समितिको ५ लाख रुपैयाँमा प्रतिघर ४ वटा बल्व निशुल्क बाँडियो । तर पनि विद्युत समस्या समाधान हुन सकेन ।

जुम्लाको विद्युत समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन । साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बढ्थापाले भने,‘पछिल्लो पटक मेसिन परिवर्तनका बिषयमा पहल गर्न थाल्यौँ । मेसिन खरिद गरिदिनको लागि भारत सरकार संग बजेट माग गर्यौँ । मर्मत संभारका लागि साथ दिन आग्रह गरयौँ । फलस्वरुप भारतीय राजदुतावासले रकमको व्यवस्थापन गरियो । अहिले पुर्न निर्माणको काम सकियो । ’
विद्युत प्राधिकरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले पुर्न निर्माण पछि विद्युत सेवा प्रवाहमा सुधार भएको बताए । उनले भने,‘जेनेरेटर पुर्न निर्माण भइसकेको छ । खडेरीले पानीको बहाफ कम भएपछि सोचे जति विद्युत दिन सकिएको छैन ।’ जुम्ला जलविद्युतका तीन हजार बढी ग्राहक छन ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस