ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।
यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।
तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् ।
तर चारजना सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भने कुरा छुट्याउन गाह्रो रहेको बताइन्छ ।