नेता नेपालले ‘सम्बन्धित पक्षसँग आग्रह गर्न चाहन्छु’ भनेका छन् । यसको अर्थ उनको संकेत केपी ओलीले नेतृत्व गरेको सरकार र नेकपा एमालेतर्फ लक्षित रहेको प्रष्टै देखिन्छ ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।
प्रधानमन्त्री ओली दासढुंगा प्रकरणबारे मौन
मदन स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मदन भण्डारीको योगदानको स्मरण गरेका छन् ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दासढुंगा प्रकरणबारे भने मौन देखिएका छन् । ओलीले जारी गरेको वक्तव्यमा मदन भण्डारीका योगदानहरुको चर्चा गर्दै वामपन्थीहरुको एकतामा जोड दिइएको छ ।
सम्झनामा मदन–आश्रित
आज जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको दिन हो । जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता–कार्यकर्ताले स्मरण गर्दैछन् । २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन नसकेको एमालेभित्र हरेक वर्ष चर्चा हुने गर्छ ।
मदनको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक– पटक ठूलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ । त्यतिमात्रै होइन, मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेलगत्तै माधव कुमार नेपाल र प्रचण्डले बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए ।
तर, आन्तरिक किचलो र सर्वोच्चको आदेशले नेकपा विघटन भएर पुनः एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् । तथापि प्रधानमन्त्रीले आज मदन भण्डारीलाई सम्झँदै वाम एकताको आह्वान गरेका छन् ।
हेर्नुहोस् माधव नेपालको वक्तव्यको पूर्णपाठ–