नागरिकता अध्यादेशविरुद्धको रिट हेर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी संवैधानिक इजलासमा परेका छैनन् ।

श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

यसअघि संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दा बरिष्ठताको क्रम मिचेको भन्दै प्रधान्यायाधीश जबराको आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस