माधव पक्षले गरेन हस्ताक्षर फिर्ता

 

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय सकिएको छ । अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।
शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय बैठकलाई सम्बोधन गदै अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताको नेतृत्वको सरकारविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए । तर, खनाल–नेपाल पक्षले अदालतबाट आउने फैसलालाई स्वीकार गर्ने  हस्ताक्षर फिर्ता नलिने अडानअनुसार ओलीको अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता गरेनन् । अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् या गर्दैनन् भन्ने एमालेभित्र चासो बढेको छ ।
यता माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने प्रस्ट पारिसके पनि ओलीको अल्टिमेटम दिएपछि पनि ओलीपक्षीय नेताहरुले २३ सांसदको हस्ताक्षर फिर्ता गराउने प्रयास जारी राखेका थिए । त्यसका लागि आइतबार बिहान ओलीपक्षीय नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास पुगेर हस्ताक्षर फिर्ता र पार्टी एक रहेको सन्देश दिनेगरी संयुक्त वक्तव्य जारी गर्न आग्रह गरेका थिए । तर, कार्यदलले वक्तव्यको मस्यौंदा ल्याउन आग्रह गरेपनि त्यस्तो मस्यौदा लिएर उनीहरु पुनः नेता नेपाललाई भेट्न गएका छैनन् ।
खनाल नेपाल पक्षका एक सांसद भन्छन्, ‘हस्ताक्षर फिर्ता गर्ने शर्तमा ओलीसँग कुनै पनि सहमति हुँदैन भनेर हामीले भन्दै आएका हौ, अहिले पनि त्यही मान्यतामा छौ । त्यसैले ओलीले जतिसुकै धाकधम्की दिऊन् वा कारवाही नै किन नगरुन् हामी डराउनेवाला छैनौ ।’

 

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस