
संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । उनको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।
पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । वि.सं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनकै नेतृत्वमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित भएका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
जनचाहना बमोजिम संविधानसभाबाट संविधान जारी गराउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशिल रहेका थिए ।
यो संविधानको सफल कार्यान्वयन भए र लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुक आज कोरोनाको चपेटामा परेको छ । आम नागरिकलाई यो महामारीबाट जोगाउनका लागि प्रभावकारीरूपले अघि बढ्न फाउन्डेसनले सरकारसँग आग्रह गरेको छ ।
यो महासङ्कटबाट पार पाउने काम सरकारको एकल पहलबाट मात्र सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत भई स्वास्थ्य मापदण्डअनुसार आफ्नो र परिवारको ख्याल राख्न फाउन्डेसनले सबैमा आग्रह गरेको छ । यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती मनाउँदैछन् ।
कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । शालिन व्यक्तित्वका धनी कोइराला अविवाहित नेता थिए । उनको ८१ औँ जन्मजयन्तीका अवसरमा गत वर्षदेखि फाउन्डेसनले समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रम गर्दै आएको छ ।



