कर्णालीपोष्ट संबादाता ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जुम्लामा लाग्ने कर्णालीकै सबैभन्दा लामो जात्रा यस वर्षपनि नलाग्ने भएको छ । कोरोना संक्रमण फेरी बढ्दै गएको र जात्रा संगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकोले जात्रा संगै सबै मेला महोत्सव पुर्ण रुपमा बन्द गरिने भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण बढ्दै गईरहेको समयमा तेस्रो भेरियन्टको कोरोना सर्न सक्ने भन्दै समितिले सवै धार्मिक मेला गर्न नपाईने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।
उहाँका अनसार धार्मिक मेलाले कोभिड संक्रमण बढ्ने भएकाले पूर्ण वन्द गर्ने निर्णय गरिएको छ । यसैगरी पछिल्लो समय विहान ६ देखि दिउसो ४ बजे सम्म हुदै आएको निषेधाज्ञालाई निरन्तरता दिईएको छ । दुईसाता सम्मका लागि पहिलेकै जस्तो कायम रहने गरी १५ दिन निषेधाज्ञा थप गरिएको छ । भने, अत्यावश्यक काम वाहेक भिडभाड गर्न नपाईने तथा बजार बन्द हुदै आएको छ ।
जुम्लामा भदौ महिना लागे संगै विभिन्न धार्मिक मेला लाग्ने भएकोेले जोखिम बढ्न सक्ने भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय गम्भीर भएर जुट्नु पर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ । जुम्लाका आठै वटा स्थानीयतहले गाउँघरमा हुने भिडभाडलाई नियन्त्रण गर्र्ने तथा सचेतनाका कार्यक्रमलाई जोड दिने भएका छन् । यदपी, विगतकौ सिकाईलाई हेर्दा जोखिम बढेपनि निषेधाज्ञा सदरमुकाममा मात्रै लागु हुने र गाउँघरमा भिडभाड नरोकिने देखिन्छ ।
गतवर्ष तिर्थयात्रामा समेत रोक लगाइएको थियो । तर यस वर्ष कर्णालीका विभिन्न स्थानमा जाने तिर्थयात्रामा रोक लगाइएको छैन् । जसका कारण तिर्थालुको आवतजावतले पनि भिडभाड बढ्ने देखिएको छ । भने, जुम्लाका राजनीतिक दलका कार्यक्रमहरुले पनि संक्रमणको जोखिम बढाएको छ । मन्त्री आउने गाउँगाउँमा हुने भिडभाड र विभिन्न पार्टीका गाउँगाउँमा भइरहेका सभा सम्मेलनले पनि संक्रमणको जोखिम बढाएको भन्दै यसको रोकथाममा प्रशासनले ध्यान दिनुपर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।