जुम्ला। लगातारको वर्षादले पहिरो आएपछि त्रिवेणी टोप्ला सडक खण्ड एक सातादेखि अवरुद्ध भएको छ । त्रिवेणी टोप्ला सडक खण्ड अन्र्तगतको तातोपानी गाउँपालिका – ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
एक सातासम्म पनि अवरुद्ध सडक खण्ड नखुलेपछि सवारी आगमनसहित मान्छेलाई आवतजावतमा समेत अप्ठ्यारो भएको स्थानीयबासीले गुनासो गरेका छन् । तिन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका ७ सर्मीका स्थानीय पे्रम रावले बताए । ‘अहिलेसम्म पनि सडक खुल्ने कुनै सुरसार छैन, पुन नुन, चामल लगाएतका दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ ।
उनले भने सडक सुचारु नहुँदा निर्माण सामग्री समेत ढुवानी गर्न सकिएको छैन । सवारी साधन आउजाउ ठप्प छ, बिरामी स्टेचरमा बोकेर अस्पताल पुर्याउनु परेको स्थानीय राजु रावतले बताए । ‘एकातिर एक सडक निर्माण भएको १ दशक बितिसक्दा समेत स्तरउन्नती हुन सकेको छैन, त्यसमा बेला बेला पहिरोले सास्ती थप्ने गरेको छ । भेरिखोलाका दर्जनौं गाउँका स्थानीय मारमा छन् उनले भने । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।
उनले भने पालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेका छौँ । पहिरोले धेरै ठाउँमा भत्केकोले निर्माण गर्नुपर्ने छ । सडकको अनुगमन पनि गरौँ । भत्केको ठाउँमा निर्माण गर्नुपर्ने भएकोले बजेटको व्यवस्थापन गर्दैछौँ उनले भने । सडक डिभिजन कार्यालय जुम्लाले छिट्टै सडक सुचारु हुने जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए । सडक अवरुद्ध भएको खबर आएको छ । अव २÷३ दिन भित्र सुचारु गर्ने तयारी भएका छ उनले भने ।
सडक डिभिजन कार्यालयका आफ्नै डोजर प्रयोग गरेर पहिरो पन्छाउने उनले बताए । यो सडक जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा, हुदै जाजरकोट, छिन्चु सुर्खेत जोड्ने सडक हो । जाजरकोट र जुम्लाबाट दुई तर्फी सडक खन्ने काम भइरहेको छ । यो सडक हालै दुई जिल्ला जुम्ला र जाजरकोट जोडिएको भने छैन । केही भाग अझै सडक काट्न अझै बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । तर यो सडक जोड्नका लागि कुडारी त्रिवेणीस्थित तिला नदिमाथि पक्की पुल भने निर्माण भइसकेको छ ।