महिला हिंसा न्यूनिकरण गर्न अनेमसंघ समाजबादी जुम्लाको ध्यानाकर्षण

जुम्ला ः लैगिक हिंसा विरुदको १६ दिने अभियानको क्रममा महिला हिंसा न्यूनिकरण गर्न अखिल नेपाल महिला संघ (समाजबादी) जुम्लाले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईको ध्यानाकर्षण गरेको छ । एक ज्ञापन पत्र बुझाएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको हो ।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच पाउने हक प्रदान गरेपनि समाज महिला माथि हुने हिंसा रोकिएका छैनन् । कानुनका दृष्टिमा सवै नागरिकले समान संरक्षण पाउने हक प्रदान गरेको छ । ध्यानाकर्षण पत्रमा भनिएको समाजमा विद्यमान महिला हिंसा र भेदभावयूक्त घटना घट्ने गरेका छन् । महिलाविरुद्ध हुने भेदभाव तथा हिंसालाई राज्यका कानूनमार्फत दण्डनीय अपराध बनाएको भएपनि यसको कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको ध्यानाकर्षण पत्र उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार दुई वर्ष अघि उजुरी गरिएका ९९ घटना मध्ये ७८ प्रतिशत मेलमिलाप गरेर टुंग्याएको छ भने १३ प्रतिशत उजुरीकर्ता नै पुन ः सम्पर्कमा आएनन् । गतवर्ष ६३ प्रतिशत घटना मिलापत्र भएका छन् भने चालु आर्थिक वर्षको तीन महिनामा ५८ प्रतिशत घटनाहरु मिलापत्रमा टुंग्याएका छन् ।
महिलामाथि हुने घरेलु हिंसा विरुद्ध अखिल नेपाल महिला संघ (समाजबादी) जुम्लाले सचेतीकरणका कारण सञ्चालन गर्दै पीडितलाई न्यायको ढोका सम्म ल्याउन सहजीकरण गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायणी चौलागाईले बताइन् । उनले भनिन् घरेलु हिंसाका घटना विरुद्ध समाजका महिलालाई सुसुचित गर्न घरदैलो कार्यक्रम गरिने छ । समाजबादीका विषयमा पनि महिलालाई सचेतीकरण गर्न अनेमसंघ समाजबादीको कार्यक्रम रहेको उनले बताईन ।
प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाईले महिला हिंसा विरुद्धका घटना निरुत्साहित गर्न राज्यका निकाय लागीपरेको बताईन । उनले भनिन् यस्ता घटनामा कुनै सम्झौता हुने छैनन् । समाजमा यस्ता घटना शून्यमै झार्ने हाम्रो अभियान रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस