
जुम्ला । कर्णालीमा पुनः वर्षा सहित भारी हिमपात भएको छ । विहिबार विहानदेखि मौसम खराबी भइ साँझबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी हिमपात भइरहेको छ । कर्णालीका हिमाली जिल्ला जुम्ला,मुगु,डोल्पा,हुम्ला र कालिकोटमा बाक्लो हिउँपर्दा हवाई र सडक यातायात पुर्ण रुपमा अबरुद्ध भएको छ ।
वर्षा र हिमपातले गर्दा कर्णाली राजमार्गको विभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । नाग्म–गमगडी सडक खण्डको बुलबुलेमा ठुलो पहिरो आउँदा आवतजावत पुर्ण बन्द भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

बुलेबुलेमा बाक्लो हिउँ जमेको हिमपात जारी रहेकोले तत्तकाल पहिरो पन्छाउन स्थिती नरहेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कालिकोटका पिलिमा सडक खुलाउन कार्यालयको मेसिन पठाइएको छ ।

हिमपात रोकिएपछि सडक सूचारु गर्नका लागि सडक डिभिजन कार्यालय जुम्लाले आबश्यक जनशक्ति सहित मेसिन तयारी अबस्थामा राखेको छ ।
त्यस्तै साविक कर्णालीकान जुम्ला,हुम्ला,मुगु र डोल्पा बिमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेपछि हवाई सेवा अबरुद्ध भएको छ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपालगन्जबाट मौसम खराबीले उडान नभएको र जुम्लामा बाक्लो हिउँ परेको धावन मार्गको हिउँ नपन्छाए सम्म हवाई सेवा शुचारु हुने स्थिती छैन् ।
हुम्लामा झण्डै ३ फिट भन्दा बढी हिउँ जमेपछि जनजीवन कष्टकर भएको संचारकर्मी दाने बोहोराले बताउनु भयो । उहाँका अनुसार हुम्लामा हिमपात जारी रहेकोले आवजावतमा पनि समस्या रहेको छ ।

कृषि क्षेत्रलाई राहत,किसान उत्साहित
कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसंगै बढेको अत्यधिक चिसोले गर्भवती महिला,बालबालिका,जेष्ठनागरिक र दिर्घरोगीको दैनिकी कष्टकर बनेको छ । भने,अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर माघ अन्तिममा परेको हिँउले कृषि क्षेत्रलाई ठुलो राहत पुराउने भएपछि किसान निकै उत्साहित भएका छन् ।

पातारासीका स्याउ किसान तारा बहादुर बोहोरा भन्छन,“माघ अन्तिममा परेको हिउँले कर्णालीको हिउँदेबालीलाई निकै राहत गर्छ । भने स्याउ बगैचा व्यवस्थापन,सिँचाईमा समेत सहयोग पुग्छ । विरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने,हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम शुरु हुन्छ । सिचाई पहूँच नभएको ठाउँमा हिउँले राहत पुराउँछ ।”
माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने,भोकमरी नहुने पनि विश्वास गरिन्छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैचा व्यवस्थापनमा टेवा पुराउँछ । हाल जुम्लाका झण्डै १७ हजार बढी घरधुरी स्याउ खेतीमा निर्भर रहेका छन् ।

उता कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाईका लागि टेवा पुग्ने बताउनु हुन्छ । विभिन्न गाउँमा हिउँ संकलन पोखरी निर्माण भएकोले हिउँ जम्मा गरी स्याउ बगैचा,तरकारीबारीमा सिँचाई गर्न सकिने उहाँको भनाई छ ।

हिउँसंकलन पोखरी नभएका किसानले भर्खर रोपेका स्याउको विरुवा वरिपोरि खाडल बनाएर हिउँ जम्मा गरिदिएपछि महिनौ दिन सम्म सिँचाई गर्नु नपर्ने समेत प्रमुख अधिकारीले जानकारी दिनुभयो । यतिबेलाको हिउँलाई सदुपयोग गर्न सके हिउँदे बाली र स्याउ उत्पादन बृद्धिमा टेवा पुग्ने देखिन्छ ।




