यातायात व्यवस्था कार्यालय जुम्लामा ५६ लाख राजश्व असुली

जुम्ला । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आवको पाँच महिनामा झण्डै ५६ लाखबढी राजश्व असुली गरेको छ । कार्यालयको नियमित कार्यक्रम अनुसार सवारी दर्ता,सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण,सवारी साधन कर लगायतका शिर्षकबाट झण्डै ५६ लाख ६४ हजार ५ सय ७० रुपैया राजश्व असुली भएको कार्यालयका सूचना अधिकारी लोक बहादुर महतले बताए ।

उनका अनुसार यातायात क्षेत्रको आम्दानी मार्फत २ लाख २५ हजार ५ सय,चालक अनुमती पत्र,सवारी दर्ता सम्बन्धी दस्तुर बापत १३ लाख २७ हजार ५ सय ३० रुपैया र सवारी साधन कर बापत ४१ लाख ११ हजार ५ सय ४० रुपैया गरी जम्मा साढे ५६ लाख बढी राजश्व संकलन भएको हो ।

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार जुम्लामा २ सय ९० वटा सवारी दर्ता भएका छन् । जसमा साउन महिनामा ६२,भदौमा ४८,असोजमा ५९,कार्तिकमा ६८ र मंसिरमा ५३ जना सवारी दर्ता भएका छन् । सबैभन्दा बढी नीजि मोटरसाइकल झण्डै ३ सय दर्ता भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले जनाएको छ । भने,३ सय ३६ लाइसेन्स नविकरण र १४ वटा प्रतिलिपि दिइएको छ ।

प्रक्रियागत कुराले लाइसेन्स वितरण रोकिएपनि कार्यालयका नियमित कामलाई सिमित जनशक्तिका बीच पनि निरन्तरता दिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निर विक्रम शाहीले बताए ।

लाईसेन्स खोल्ने तयारी
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले फागुन महिना भित्रै सवारी चालक अनुमती पत्र लाईसेन्स वितरण खोल्ने तयारी भइरहेको जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निर विक्रम शाहीले भने,“सबैको दबाब र पहले झण्डै ४ वर्षपछि जुम्लामा लाईसेन्स वितरण गर्ने तयारी भइरहेको छ । कार्यालयले सबै तयारी गरिरहेको छ । केहि प्राविधिक पक्ष बाँकी छ । चाडै खोल्छौ ।”

फागुन महिना भित्रै खोल्ने तयारी भएपनि मिति तय नभएको कार्यालय प्रमुख शाहीको भनाई छ । संघियता कार्यान्वयन भए संगै जुम्लाबाट लाईसेन्स वितरण बन्द भएको थियो । तर लामो समयपछि मिडिया क्षेत्रले दिएको दबाब,कर्णाली प्रदेश सघले दिएको चासो र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुको सक्रियताले लाईसेन्स खोल्न थालिएको प्रमुख शाहीले उल्लेख गरे ।

सबैको सहयोग र साथले जुम्लामा सवारी व्यवस्थापनलाई प्रभावकारी सकिने भन्दै सहयोग अपेक्षा गरिएको शाहीले बताए । जुम्लामा बढ्दै गएको अटोरिक्सा,मोटरसाईकल खरिदले सवारीको चाप बढ्दो छ । संघियता कार्यान्वयन संगै लाईन्सेस वितरण बन्द भएपछि समस्या भएको छ । यी विभित समस्यालाई समधान गर्न हामी लागि परेको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस