संसद्‌ बैठक आज १ बजे बस्दै

 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह बस्दैछ। यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय भएको संसद् बैठक अन्तिम समयमा प्रधान मन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गर्नुभएको थियो ।

त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसअघि आइतबारको बैठकमा एमसीसी पेस भएको थियो।

बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ। बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने छ ।

निर्धारित समयभित्र सांसदहरुले धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुनेछ । निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसीसीमाथिको छलफल लम्बिन सक्छ।

हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद हुनुहुन्छ ।

प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा –एकीकृत (समाजवादी) विपक्षमा छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफुले कार्वाही गरेको १४ सांसदको सुचना टाँस नभएको विरोधमा लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन।

उसले प्रतिनिधि सभाको वेल घेराउ गर्दै नाराबाजी गर्दै आइरहेको छ। एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । सत्ता पक्षसँग बहुमत रहेकाले प्रतिपक्षले सरकारको बिजनेस कसरी अघि बढाउने भन्ने एमालेको विषय नभएको एमाले नेताहरूले बताउनुभएको छ ।

एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस