आयोगको कार्यालय स्थानान्तरण नगर्न जुम्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण


जुम्ला ः जुम्लास्थित राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकषर्ण गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग काठमाडौँलाई जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालय मार्फत ध्यानाकर्षण पत्र मानवअधिकार रक्षक सञ्जालसहितको टोलीले बुझाएर हो ।
मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगले २०६२ चैत १९ गते साविकका कर्णालीका जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा कार्यक्षेत्र हुने गरी जुम्लामा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय स्थापना भएको हो ।

यो कार्यालय हाल कर्णाली प्रदेशको शाखा कार्यालयमा परिणत भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समयमा संघीयताको मर्मसँगै आयोगले प्रदेश कार्यालय राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी बुझिएकोले यो स्वागत योग्य कार्य हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, जुम्लामा २०६२ साल देखि स्थापना भएको मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला नहटाउन तथा जुम्ला शाखा कार्यालयको कार्यक्षेत्रको दायरा र मौजुदा जनशक्ति नघटाउन साविकको कर्णाली अञ्चलको सदरमुकाम जुम्लाको नागरिक तथा मानव अधिकार रक्षकहरुको तर्फबाट ध्यानार्कषको गर्दछौ ।


यद्यपी जुम्लामा रहेको कार्यालय हटाउने वा अधिकार क्षेत्र घटाएमा सवैभन्दा पछाडि परेको साविक कर्णाली क्षेत्रलाई मानव अधिकारको दृष्टिबाट अन्याय हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
मानवअधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतका अनुसार जुम्लामा १६ बर्ष देखि काम गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय स्थानान्तरण तथा कार्यको दायरा तथा जनशक्ति नघटाईनु पर्ने र जुम्लामा रहेको आयोगको कार्यालयमा महिला कर्मचारीसहित थप पूर्वाधारयूक्त बनाईनु पर्ने विषयमा ध्यानाकर्षण गरिएको हो

मानवअधिकार रक्षक सञ्जाल जुम्ला संयोजक राजबहादुर महत, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, गैसस महासंघ शाखा जुम्लाका अध्यक्ष अमरबहादृर रोकाया, महिला मानवअधिकार मञ्च जुम्लाका अध्यक्ष टिका नगरकोटी र दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपालीको टोलीले ध्यानाकर्षण बुझाएको हो ।
यस्तै जनजाती महासंघ जुम्लाका अध्यक्ष कार्मा ठिले तामाङ, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धिताल, जेष्ठनागरिक संघ जुम्लाका का.वा अध्यक्ष तुलाराम न्यौपाने, अल्पकालिन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठ र इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलसहित ध्यानाकर्षण पत्र बुझाउने टोलीमा सम्मिलित रहेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस