तातोपानी गाउँपालिकाले डाक्टर,ईन्जिनियर पढाउने

 

जुम्ला, १५ जेठ । जुम्लाका आठ स्थानीय तहमध्य कृषि,पर्यटन र जडिबुटीको प्रचुर सम्भावाना रहेको तातोपानीले बितेको पाँच वर्षमा पालिकाका ८ वटै वडामा ग्रामिण सडक पुराएको छ । भने,गाउँपालिकाको केन्द्र समेत तातोपानी ३ लिताकोटमै तोकिएको छ । स्थानीयतह सदस्य निर्वाचन २०७९ बाट तातोपानी गाउँपालिकाको अध्यक्षमा नन्दप्रसाद चौलागाई र उपाध्यक्षमा रेवती रावल विजयी भएकी छन् ।  निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा ८ वटै वडाका वडाध्यक्षहरुको पहिलो बैठकले तातोपानीका विपन्न,दलित,अल्पसंख्यकलाई डाक्टर र ईन्जिनियर पढाउने निर्णय गरिएको छ ।

अध्यक्ष चौलागाईले भन्नुभयो,“अघिल्ला जनप्रतिनिधिले जनताका आधारभूत आबश्यकतालाई पहिचान गरी विकास गरेका छन् । हामीले ती विकासलाई संस्थागत गर्ने जिम्मेवारी पाएका छौ । धेरै महत्वकाँक्षी निर्णय योजना बनाउने,धेरै बोल्ने भन्दा धेरै परिणाम मुखी काम गर्ने सोचमा छौ ।” पहिलो बैठकबाट प्रथामिकताका साथ तातोपानीका विपन्न,दलित,अल्पसंख्यकलाई ५० प्रतिशत अनुदानमा डाक्टर र ईन्जिनियर पढाउने निर्णय गरेका छौ ।अध्यक्ष चौलागाईले थप्नुभयो,“आगामी चालु आवबाट पालिकाका ३ जना विपन्न जेहेन्दार विद्यार्थीलाई पढाईने छ ।

स्नातक तहको डाक्टरी र ईन्जिनियर पढाईको जत्ती लाग्छ त्यत्ति ५० प्रतिशत पालिकाले तिर्ने छ । भने, पढाई सकेर विज्ञता हासिल गरिसकेपछि ३ वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने सर्त तोकेका छौ ।” पालिकाले डाक्टर ईन्जिनियर पढाउने निर्णय भनेकै तातोपानीमा पहिलो डाक्टर जन्माउने लक्ष्य हो । भने आर्थिक अभावले प्राविधिक धार पढन् नपाएकालाई राहतका लागि पनि अनुदानमा ईन्जिनियर पढाउने निधो गरेको उहाँको भनाई छ । साथै जनप्रतिनिधिको पहिलो बैठकले डाक्टर इन्जिनियर पढाउने सहित ४ वटा महत्वपुर्ण निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।

पालिकाभरीका २८ वटै विद्यालयका बालबालिको निशुल्क स्वास्थ्य परिक्षण गर्ने,समयको पालना गर्न तातोपानी टाइम्स लागु गर्ने, र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिने निर्णय भएको बुढ्थापाको भनाई छ । नव निर्वाचित उपाध्यक्ष रेवती रावलले योजनाको प्रभावकारी अनुगमन, गाउँमै नागरिकलाई छिटो छरितो न्याय सम्पादन, सिमा साँधका समस्या समधान र महिला शसक्तीकरणका सवालाई विशेष प्रथामिकता दिने बताउनुभयो । पालिकाले डाक्टर ईन्जिनियर पढाउने ३ जना मध्य एक जना किशोरी अनिवार्य गरिने छ । भने विगतका जनप्रतिनिधिले गरेका अनुकरणीय कामलाई निरन्तरता दिने थप ऐन कानुन निर्माणलाई जोड दिईने उपाध्यक्ष रावलको भनाई छ ।

करिब ५२५.५१ वर्गकिमीमा छरिएर रहेका तातोपानीका ८ वटै वडाका सबै विकट बस्तीलाई राजमार्ग संग जोड्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पुरायाउन, पर्यटन प्रबद्र्धनका गर्न ग्रामिण सडक निर्माण गरिएको छ । गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुश गराउने र सेवा प्रवालाई छिटो छरितो गर्न डिजिटल प्रणाली लागु गरिने जनाइएको छ । वडागतका सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी भवन, पर्यटकीय पदमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणमालाई पुर्णता दिन आगामी नीति तथा कार्यक्रममा समेटीने तातोपानी २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताउनुभयो ।

आम नागरिकका आबश्यकतालाई पहिचान गरी विकास गर्न जोड दिईने बुढाको भनाई छ । भने,जुम्लामै पहिलो खस भाषाको पाठ्यक्रम निर्माण,४ वटा बर्थिङ सेन्टर निर्माण, पालिकाभरीका २८ वटै विद्यालयमा भवन निर्माण, प्राविधिक शिक्षालय सञ्चालन, घरमै पुगेर जेष्ठ नागरिकको निशुल्क उपचार,विद्यालयमा अर्गानिक खाजा खुवाउने जस्ता नमूना कार्यक्रमलाई निरन्तरता दिईने अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिहरु उर्जा जोश जागँरका साथ आएकोले अझै नवितम विकास निर्माण हुनेमा नागरिक आशाबादी छन् ।

स्थानीय लोक बहादुर दमाई भन्छन,“स्थानीय सरकारले नागरिकका समस्या बुझने आबश्यकता मैत्री विकास गरी विपन्नको आयस्तर बढाउने आशा छ ।” पालिकाको प्रशासनिक भवन निर्माणका लागि जगा छनोट गरेर पालिकाका नाममा समेत नामसारी भईसकेको छ । भने आगामी आवमा प्रशासकिय भवन निर्माणलाई समेत संघ प्रदेशमा पहल गरेर अघि बढाईने अध्यक्ष चौलागाईको भनाई छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस