काठमाडौं । १३ साउन २०७८ मा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल काठमाडौंस्थित पाँच तारे होटल मेरियटको एक सार्वजनिक समारोहमा पुगे । कार्यक्रम थियो–रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ वैशाख २०७८ मा मृत्यु भएका २१ वर्षीय बिमित सर्जन विकको परिवारलाई दुई करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने ।
कार्यक्रममा सर्जनकी श्रीमतीका रुपमा खडा भइन्, सपना मल्ल । बीमा क्षेत्रको नियामक निकायका अध्यक्ष सिलवालकै हातबाट सपनालाई चेक हस्तान्तरण भयो । सिलवालसँगै उभिए कम्पनीका कम्पनीका अध्यक्ष ताराचन्द्र केडिया, तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली लगायत कम्पनीको सञ्चालक र व्यवस्थापनको टिम ।
दाबी भुक्तानी गर्नु बीमा कम्पनीको नियमित कार्य भए पनि नेपालमा त्यसलाई नै बजारीकरणको हतियारका रुपमा प्रयोग गर्ने प्रचलन छ, अझ अति विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरेरै ‘प्रेस विज्ञप्ति’ सञ्चारमाध्यमा पठाउने चलन पनि झांगिएको छ ।
रिलायन्सले त्यही काम गरेको एक वर्षपछि अर्थात् गत १३ साउन (शुक्रबार) तीनै २ करोड ५० लाख रुपैयाँ बुझेकी सपना काठमाडौंको केन्द्रीय अनुसन्धान ब्यूरोको परिसरमा हतकडीसहित ‘हत्या अभियुक्त’का रुपमा सार्वजनिक भइन् । प्रहरीले पत्रकारसामु निष्कर्ष सुनायो, सर्जनको ‘दुर्घटनामा मृत्यु’ नभई सपनाकै संलग्नतामा भएको ‘योजनाबद्ध हत्या’ थियो ।