महिनावारी हुने किशोरीलाई मर्यादित महिनावारी कक्षा


जुम्ला ः विशेष गरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा महिनावारी छुइप्रथा मान्ने चलन धेरै छ । यो प्रथा सदियौँदेखि चल्दै आएको छ । यो मानिसले नै बनाएको सामाजिक प्रथा हो ।
महिनावारी (छुईप्रथा) भएको बेला महिला तथा किशोरीहरु असुरक्षित रुपमा घर बाहिर गोठमा (छुई खुल्लो) अलगै बस्ने चलन छ । पछिल्लो समयमा यो छुईप्रथा न्यूनिकरण तथा अन्त्य गर्नका लागि नेपाल सरकारदेखि विभिन्न सामाजिक संघसंस्थाले आर्थिक, भौतिक र नैतिक रुपमा पनि लागि परेका छन् ।
यही छुईप्रथालाई मध्ये नजर गर्दै महिनावारी हुने उमेर समुहका किशोरीलाई प्लान नेपाल र पेस नेपाल जुम्लाद्धारा सञ्चालित खानेपानी सरसफाई तथा स्वच्छता उत्थानशिलता परियोजना अन्र्तगत संस्कृति, संवाद, समन्वय र सञ्चार केन्द्रीत महिनावारी स्वास्थ्य क्षमता विकास तालिम दिएको छ । सिंजा गाउँपालिकाका महिनावारी हुने उमेर समुहका किशोरीलाई मर्यादित महिनावारी कक्षा सञ्चालन गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए ।
चारदिन मर्यादित महिनावारी आवासीय तालिमको सहजीकरण सामाजिक अभियान्ता राधा पौडेले गरेकी हुन् । २५ वर्षदेखि मर्यादित महिनावारीको अभियान सञ्चालन गर्दै आउनु भएकी अभियान्ता पौडेलले भनिन् महिनावारी छुईप्रथा एक सामाजिक प्रथा हो । यो प्राकृतिक नभई अप्राकृतिक कुरा हो । यसलाई समाजबाट हटाउन सकिन्छ । यसमा हामी सबैको प्रयास हुन जरुरी छ ।
भुईंतहको समुदायलाई केन्द्रित हुनेगरीकुनै काम÷अभियान संचालन गर्नु उत्तम हुन्छ । बजारमा पाइने प्याड मात्र महिनावारीको रगत सोस्ने एउटै मात्र विकल्प हो भन्ने किसिमले गइयो भने पालिका–पालिकामा खुल्दै गरेका प्याड उद्योगहरू फस्टाउन सक्दैनन् । साथै परम्परागत रूपमा प्रयोग गरिने सामग्रीप्रति लजाउने वा हीनताबोध हुनेहरू बढ्न सक्छन् । सामाजिक अभियान्ता पौडेलले भनिन् पछिल्लो समय नेपालमा सहरतिर सबै खालका सामग्री पाइन्छ । परम्परागत सामग्री भने सबै ठाउँमा पाइन्न । सामग्री जेसुकै भएपनि त्यो हरेक महिनावारी हुने व्यक्तिलाई मर्यादित भएर बाँच्न सहयोग गर्ने खालको हुनुपर्छ । नेपालमा कुहिने प्याड पनि उत्पादन हुन थालेका छन । तर, यसको कच्चापदार्थ देश बाहिरबाट ल्याउनुपर्ने भएकाले साना उद्योगहरूलाई झन्झटिलो छ । यसलाई बलियो र व्यापक गर्न तिनै तहका सरकारले आर्थिक र बजारीकरणमा साझेदारी गर्न ढिलो गर्नु हुँदैन । अन्त्यमा, कुनै पनि विद्यालय÷कार्यालयमा छिर्दा ‘मर्यादित महिनावारी मैत्री’ विद्यालय÷कार्यालयमा स्वागत छ भनेर लेख्न सके त्यसले छोरी÷महिलामा गौरव र आत्मसम्मान बढ्न सक्छ
शिक्षा र यस्ता किसिमका जागरणका कारण पछिल्लो समयमा यो प्रथा समाजमा कम हुदै आएको भएपनि समाजबाट निर्मल पार्नु पर्ने उनले बताइन् । ऐनकानुन संविधान पनि छुईप्रथा मान्न नहुने उल्लेख गरिएको छ । यो प्रथा मान्नेलाई कानुनी दण्डको पनि व्यवस्था गरेका उनको भनाई छ । छुई प्रथा एक सामाजिक अपराध हो । यो प्रथाबाट महिला किशोरी असुरक्षित छन् । मर्यादित महिनावारीका विषयमा पाठ्यक्रममै समेट्ने प्रयास भई रहेको उहाँले बताइन् । उनले भनिन् यो विषयमा नेपाल सरकारले पनि चासो लिएको छ । निकट भविश्यमै मर्यादित महिनावारीको विषय पाठ्यक्रमै समेटिने अपेक्षा गरिएको छ ।
पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेका अनुसार छुईप्रथा हाम्रै समाज बनाएको प्रथा हो । मानिसले नै बनाएको प्रथा भएकोले समाजबाट न्यूनिकरण सकिन्छ । उनले भने हाम्रा समाजका मानिसको चेतना स्तर बृद्धि गर्नुका साथै सवै तह तप्कादेखि नै सामाजिक जागरण सञ्चालन आवश्यक छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस